PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बस्ती बीचमै रहेको कब्रस्तानमा संक्रमितको शव गाडेको भन्दै स्थानीयको विरोध, कब्रस्तान सिल



पहिलोपोस्ट

बस्ती बीचमै रहेको कब्रस्तानमा संक्रमितको शव गाडेको भन्दै स्थानीयको विरोध, कब्रस्तान सिल

काठमाडौं : कोरोनाका कारण मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सिल गरिएको हो।

बिहीवार कोरोना संक्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेको थियो। त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए। यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बीच छलफल गर्दा पनि कुनै निष्कर्ष नआए पछि अर्को निर्णय नभए सम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए।

स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन्। जसले गर्दा अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन। दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएका धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ। तर, आन्दोलनरत पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैका लागी बन्द हुनुपर्ने माग गरेका छन्।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेका थिए। उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन्। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell