PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोरोना संक्रमणका कारण काभ्रेमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु



रासस

कोरोना संक्रमणका कारण काभ्रेमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु

काभ्रेपलाञ्चोक : कोरोना भाइरस संक्रमणका कारण शुक्रवार काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका-५ निवासी ५१ वर्षीय पत्रकार र बनेपा नगरपालिकाका ३९ वर्षीय एक पुरुष छन्।

पत्रकारको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान ४ बजे मृत्यु भएको हो। उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाईले बताए।

पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित उनमा कोरोना संक्रमण देखिए पनि हप्ता दिनअघि संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमणका कारण ‘मल्टी अर्गान फेलिएर’ भई उनको निधन भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कमाण्ड पोस्टले जनाएको छ। पोस्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना संक्रमित थपिएका हुन। शुक्रवार पाँच संक्रमित कोरोनामुक्त भई घर फर्किएका छन्।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल संक्रमितको सङ्ख्या एक हजार ६०६ पुगेको छ। यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोस्टले जनाएको छ। हाल कोरोना सक्रिय संक्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन्। धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक संक्रमित रहेका छन्।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन्। हाल सक्रिय संक्रमितमध्ये अस्पताल आइसोलेसनमा ९० र होम आइसोलेसनमा ३९२ उपचाररत रहेको पोस्टले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell