PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जम्दै विश्व खेलकुद, नेपाली खेलाडीलाई भने लयमा फर्कने चुनौती



मुकुन्द घिमिरे

जम्दै विश्व खेलकुद, नेपाली खेलाडीलाई भने लयमा फर्कने चुनौती

काठमाडौं : दर्शक बिहिन स्टेडियममा भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु रोमाञ्चक बन्दै गइरेहेको छ। उता युरोपका शीर्ष फुटबल लिगहरु धमाधम चलिरहेका छन्। आईपीएल लगत्तै पनि अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न सिरिजहरु तय भइसकेका छन्। अर्थात सुरक्षा सतर्कता अपनाउँदै कोरोना महामारीबीच पनि विश्वखेलकुद पुरानै लयमा फर्किएको आभास हुन थालेको छ।

च्याम्पियन्स लिग अन्तर्गतको रसियामा भएको खेलमा त दर्शकहरुको उपस्थिति नै देख्न पाइयो। च्याम्पियन्स लिग अन्तर्गत समूह ई को क्रसनोदर स्टेडियम (रसिया) मा भएको क्रसनोदरसँगको खेल पछि चेल्सीका खेलाडी म्यासन माउन्टले ट्वीट लेखे: आज समर्थकहरुका माझ खेल्दा सामान्य अवस्थामा फर्किएको अनुभव भएको छ।

यस्तै अवस्था फ्रेन्च लिगवानमा पनि देखिँदै आएको छ।

विश्वभर खेलकुदका गतिविधिहरु संचालन भइरहँदा नेपालमा पनि त्यसको असर देखिन थालेको छ। लामो समयपछि बिहीवारबाट फुटबल खेलाडीहरु प्रशिक्षणका लागि दशरथ रंगशालामा उत्रिए। अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद्बाट अनुमति लिएर प्रशिक्षण सुरु गराएको हो।

यसअघि विश्वकप छनोट अन्तर्गतको खेलका लागि कोरोना परीक्षणसमेत गरेर अभ्यासमा उत्रन ठिक्क परेका खेलाडीहरु एएफसीले खेल स्थगित गरेसँगै मैदानमा उत्रन पाएनन्। तर यसपटक दशरथ रंगशालामा अभ्यासमा उत्रिएका छन्।

हुन त जनजीविका लगभग सामान्य अवस्थामा फर्किएको छ। भलै कोरोनाको संक्रमण दर बढेको होस। यो काठमाडौंको लागि मात्रै न्यु नर्मल होइन। विश्वकै सन्दर्भ उस्तै छ।

तर विश्वभर खेल क्षेत्रले गति लिइरहँदा नेपालले भने खेल क्षेत्रलाई गतिशिल बनाइराख्ने प्रयास गर्न ढिला गर्‍यो। खेलाडीका लागि दशरथ रंगशाला बन्द गर्ने तर सुटिङका लागि खोल्ने भन्दै सिनियर खेलाडीहरुले नै सामाजिक संजालमा आक्रोश पोख्न बाध्य बने।

खेलाडीहरुको चिन्ता र चासो भनेको फिटनेस र करियरकै हो। कोरोना महामारीका कारण लामो समय नेपाली खेलाडीहरु घरमै थन्किए। बीचमा लकडाउन केही खुलाहुँदा केही खेलका अभ्यास सुरु त भए तर महामारी बढेको भन्दै निषेधाज्ञा सुरु भयो। र, फेरि प्रशिक्षणहरु रोकिए।

पछिल्लो समय अधिकांश क्षेत्रमा लगाइएको प्रतिबन्धहरु सरकारले हटाउँदै लैजाँदा नेपाली खेलकुद क्षेत्रमा पनि अभ्यासहरु सुरु हुन थालेका छन्।

तर यसो भन्दैमा धेरै खुशी हुनुपर्ने अवस्था भने छैन। अझ क्रिकेट लगायतका खेलहरुको अभ्यास हुने नहुने भन्ने अन्यौल कायमै छ। प्रतियोगिता त परकै कुरा भयो। आईपीएलमा खाली स्टेडियममा भइरहेका खेल हेर्दा आफ्नै खेल मैदानमा भने खेलाडी पुग्न सकिरहेका छैनन्। सरकारले अझै खेल गतिविधि पूर्ण रुपमा संचालन गर्न अनुमति दिन चाहेको छैन।

अभ्यास त एउटा खुड्किलो हो। खेल संघ र खेलकुद परिषदका लागि प्रतियोगिताहरु पनि आयोजना गराउनु पर्ने चुनौती हुने नै छ। त्यसै पनि प्रतियोगिता गराउन धेरै जस्तो संघले आनाकानी र ढिलासुस्ती गर्ने देखिइरहँदा कोरोना त बाहाना बन्ने नै भयो।

खेल प्रतिस्पर्धाको खेल हो, नेपालका प्रतिस्पर्धी देशहरुले तयारी अघि बढाएको थुप्रै भइसक्यो। अझ छिमेकी भारतमै प्रतियोगिताहरुमा खेलाडीले सहभागिता जनाउने वातावरण बनिसकेको छ।

नेपालकै सन्दीप लामिछाने युएईमा आईपीएलका लागि पुगेका छन्। भारतकै आईलिगको छनोट खेलेर अभिषेक रिजाल फर्किइसकेका छन्। अन्यदेशहरुमा प्रतियोगिताको माहोल बनिसक्दा यता भने भर्खर अभ्यासको माहोल जुर्मुराउँदै छ। त्यो पनि छानेर।  अभ्यासको वातावरण बन्दै जानु सकारात्मक भए पनि चित्त बुझाएर बस्ने वातावरण भने अझै बनिसकेको अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell