वीरगंज : पर्सा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्तालाई नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोप लागेको छ। उनीविरुद्ध किटानी जाहेरी परिसकेको छ।
यसबारे पूर्वसभासद् गुप्ताले आफूलाई जानकारी रहेको बताए। घटनामा दोषी भेटिए कारबाई भोग्नसमेत तयार रहेको उनले बताए। पर्सा, विन्दवासिनी गाउँपालिका वडा नं २ बहुअर्वाभाठा बस्ने ४० वर्षीय नेता मुकेश चौरसियाको हत्या घटनामा आफु अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको स्पष्ट पारे।
हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जोहरी परेसँगै अहिले पर्सामा उनीसहित अन्य कार्यकर्ता पनि फरार भएको अडकलबाजी भइरहेको छ। उनी वीरगंजबाट काठमाडौंतर्फ प्रस्थान गरेको वीरगंजमा चर्चा छ। कहाँ छन् त गुप्ता? फोन सम्पर्कमा गुप्ताले आफू नेपालमै रहेको बताए।
उनले कहाँ छु भन्नेभन्दा पनि नेपालभित्रै रहेको र सबैको सम्पर्कमा रहेकोले फरार भनिरहन नपर्ने बताए। भने, ‘म कानुनभन्दा माथि छैन, जे कानुनी प्रक्रया पुरा गर्नुपर्छ, प्रहरीलाई अनुसन्धानमा सघाएर सहयोग गर्नेछु।’
उनले मुकेश चौरसियाको घटनामा आफनो संलग्नता नरहेको दाबीसमेत गरे। यता, कातिक ६ गते पर्साको विन्दावासनि गापा ५ प्रसौनीमा भएको सपथग्रहण कार्यक्रममा झडपमा परी गम्भीर घाइते भई उपचारको क्रममा मृत्युवरण गरेका मुकेशको घरपरिवारले उनकै योजनामा सो घटना भएको र लाठीभाटा हान्ने देवा सहनी र हनिफ मिया गुप्ताकै वीरगंज श्रीपुरस्थित निवासबाट पक्राउ परेको हुदाँ उनको संलग्नता हुने दावी गर्दै आएका छन्। पूर्ब सभासद गूप्तासहित १२ जनाको नाम किटानी जाहेरीमा समावेश गरी पर्सा प्रहरीमा कातिक ७ गते दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।
जिल्ला प्रशासन कार्याल्य पर्सामा पनि ज्ञापनपत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएकोपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनवाई गराएर बिहीवार जोहरी दर्ता भएको छ। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकराी गराएकी छन्। पर्साकी प्रहरी उपरीक्षक पन्तले मुकेशलाई भाटा हान्ने अखिलेश चौरसियालाई प्रहरीले खोजी गरिररहेको र त्यसपछि जो जसको संलग्नता खुल्दै जान्छ त्यसपछि सबैलाई अनुसन्धानको क्रममा समेटिने बताइन्। उनले जाहेरी भएका सबैको खोजी कार्य प्रहरीले गरिरहेको जनाएकी छन्।