इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्स मुम्बइ इण्डियन्ससँग पराजित भएको छ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बइले ९ विकेटको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नचल्दा ११० रनको सामान्य स्कोरमा समेटिएको थियो।
दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक २५ रन बनाउँदा ऋषभ पन्तले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुको प्रदर्शन संझनलायक रहेन।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बइका लागि जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिँदा राहुल चहर र नाथक काउल्टर नाइलले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले १४.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
मुम्बईका लागि इशान किसनले सर्वाधिक ७२ रन बनाउँदा क्विन्टन डी ककले २६ रन बनाए। त्यस्तै सूर्यकुमार यादव १२ रनमा अभिजित रहे।
दिल्लीका लागि एररिच नोर्टजेले एक विकेट लिए।
लगातार चार खेलमा पराजय भोगेको दिल्ली प्लेअपको संघारमा आएर फेरि एकपटक अड्किएको छ। दिल्लीले अब अर्को खेलमा बेङ्ग्लोरलाई हराएको खण्डमा १६ अंक जोड्ने छ। जारी सिजनमा प्ले अफमा स्थान मुम्बइले मात्र बनाउन सकेको छ। शीर्षस्थानमा रहेको उसको अंकतालिकामा १८ अंक छ।
प्लेअपकै होडमा रहेका समान १३ खेलबाट १२ अंकजोडेर क्रमश चौथो, पाँचौं र छैठौं स्थानमा रहेका पञ्जाब, राजस्थान र कोलकतालाई दिल्लीको हारले राहत मिलेको छ। त्यस्तै आजै जारी बेङ्ग्लोरसँगको खेलमा जित निकालेको खण्डमा हैदराबादलाई पनि दिल्लीको हारले केही राहत मिल्न सक्छ।
