PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरका १०५ सहित प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार नाघ्यो



फूलमाया पुरी

विराटनगरका १०५ सहित प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा शनिवार २२२ जना कोरोना संक्रमित थपिएका छन्। ८०३ जनाको पीसीआर परीक्षण गरिएकोमा २२२ जनामा कोरोना संक्रमण देखिएको हो। जसमा १०५ महिला र ११७ पुरुष संक्रमित भएका छन्।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ। शनिवार थपिएका संक्रमितहरुमा मोरङका १२६, सुनसरीका ५८, झापाका २९, इलामका ३, धनकुटाका १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा मात्र १०५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष रहेका छन्। त्यस्तै, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंगेली र बेलबारीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, झापाको दमक र विर्तामोडमा ६/६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २/२, हल्दीबारी र शिवसताक्षीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।

इलामको इलाम, माई र चुलाचुलीमा १/१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ मा शनिवार ३२ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा होटल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३ र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ८५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell