PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अस्पतालबाटै भागे मुकेश चौरसिया हत्याका आरोपितः प्रहरी भन्छ, ‘झुक्याए’



राधेश्याम पटेल

अस्पतालबाटै भागे मुकेश चौरसिया हत्याका आरोपितः प्रहरी भन्छ, ‘झुक्याए’

वीरगंज: मुकेश चौरसिया हत्याका दुई जना आरोपीलाई प्रहरीले भगाएको आरोप पीडित परिवारले लगाएको छ। हत्या आरोपमा पक्राउपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका विन्दाबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारी र चिन्टु तिवारीलाई प्रहरीले नै भगाएको पीडित परिवारले आरोप लगाएका हुन्।

प्रहरी र अस्पताल प्रशासनको सेटिङमा तिवारी दाजुभाई अस्पतालबाट भागेका मृतक मुकेशका भाइ महेश चौरसियाले दाबी गरे।

तर, पर्सा प्रहरीले भने घटनाको अनुसन्धान सुरु हुनु अगावै तिवारी दाजुभाई अस्पतालबाट भागेको दाबी गरेको छ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटना भएको दिन नै घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षबाट आइसियूमा सर्ने बेला प्रहरीलाई झुक्याएर भागेको बताइन्। उनले हत्यामा संलग्न सबैलाई यथाशीघ्र पक्राउ गर्ने दाबी समेत गरिन्।

हत्या अभियोगमा पूर्व सभासद् राजकुमार गुप्तासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी परेपछि उनीहरु फरार भएको बताइएको छ। पूर्व सभासद् गुप्ता फरार भएकोबारे जानकारी नभएको जनाउँदै प्रहरी उपरीक्षक पन्तले घटनामा संलग्न सबैलाई पक्राउ गरिने बताइन्।

उनले भनिन्, ‘हामी अहिले मुद्दाको अनुसन्धानमा लागेका छौँ, प्रमाणका आधारमा जो-जो भेटिए सबैलाई पक्राउ गरिहाल्छौँ।’

हत्या अभियोगमा पूर्व सभासद् गुप्तासहित १२ जनाको नाम किटान गरी कात्तिक ७ गते जाहेरी लगिए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बिहीबार जाहेरी दर्ता भएको थियो।

जाहेरी दर्तापछि अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell