इण्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको ४० दिन बितिसक्यो र यसमा ५२ वटा खेल भइसके। तर अझै प्लेअफमा पुग्ने टिमहरुको टुंगो लागिसकेको छैन। शीर्ष स्थानको मुम्बइ इण्डियन्सले प्लेअफमा स्थान निश्चित गरिसकेको छ भने पुच्छारमा रहेको चेन्नइ सुपर किंग्स त्यो होडबाट बाहिरिसकेको छ। बाँकी सबै टिमहरु अझै प्लेअफको होडमा छन्। अर्थात प्लेअफको बाँकी तीन स्थानका लागि अझै ६ टिमहरु संघर्षरत छन्।
प्लेअफको होडमा दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेङ्ग्लोर, सनराइजर्स हैदराबाद, किंग्स ११ पञ्जाब र राजस्थान रोयल्स अझै प्लेअफको होडमा बाँकी छन्। यद्यपि दिल्ली र बेङ्ग्लोरबीचको विजेताले एउटा स्थान सुरक्षित गर्ने निश्चित छ।
आईपीएलको ५६ औं खेलमा सनराइजर्स हैदरावाद र मुम्बइ इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। र, त्यो प्रतिस्पर्धा पछिमात्र आईपीएलको प्लेअफमा पुग्ने चार टिमको टुंगो लाग्ने छ। यसपटक संयोग यस्तो छ कि दुई टिममात्र १६ अंकभन्दा माथि ल्याएर क्वालिफाइ हुनेछन्। जबकि बाँकी दुई टिम १४ अंक ल्याएर क्वालिफाइ हुनेछन्।
त्यस्तै यसपटक अन्तिम खेल सकिँदा १४ अंकसहित चार टिम प्लेअफको होडमा पुग्न सक्नेछन्। जसका लागि अब अगाडीका चार खेल निकै महत्वपूर्ण हुनेछन्।
आज दिउँसो पञ्जाब र चेन्नइ भिड्दैछन्, जसमा पञ्जाबले खेल जिते प्लेअफको यात्रामा कायम रहन्छ तर पराजित भए २०२० को आईपीएल उपाधिको होडबाट बाहिरिन्छ।
त्यस्तै आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्ने छन्। यो खेलमा जुन टिम पराजित हुन्छ उसको प्लेअफ यात्रा सकिन्छ र जित्ने टिम प्लेअफको होडमा कायम रहन्छ। त्यस्तै बाँकी रहेका खेलमा बेङ्ग्लोर र दिल्लीबीचको खेलको विजेता त क्वालिफाइ हुन्छ नै पराजित हुने टिमको पनि रनरेटको आधारमा क्वालिफाइ हुने सम्भावना रहन्छ।
यद्यपि यसका लागि अन्तिम खेल पर्खनुपर्ने हुन्छ। अन्तिम खेलमा हैदराबाद र मुम्बइ इण्डियन्स भिड्ने छन्। जसमा मुम्बइले खेल जिते हैदराबादको जारी सिजन खेलयात्रा टुंगिनेछ भने हैदराबादले खेल जित नेट रनरेटका आधारमा १४ अंक जोडेका टिमहरु मध्येबाट दुई टिम प्लेअफका लागि क्वालिफाइ हुनेछन्।
नेट रनरेटको कुरा गर्नेहो भने हैदराबाद र पञ्जाब बलिया देखिन्छन्।
