PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दशैँपछि कराँतेको अभ्यास शुरु, खेलकुद फर्काउन अझै समन्वयकै कमी

दशैँपछि कराँतेको अभ्यास शुरु, खेलकुद फर्काउन अझै समन्वयकै कमी

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : लकडाउनयता अभ्यासमा जुटिरहेको खेल हो कराँते। ओलम्पिकको तयारीका लागि भन्दै लकडाउनयता पटकपटक अभ्यास शुरु हुँदै रोकिँदै गर्‍यो। पछिल्लो समय असोजको पहिलो साताबाट सञ्चालनमा आएको अभ्यास फूलपातीयता रोकिएको थियो जुन आजबाट सातदोबाटोस्थित कराँतेको कभर्डहलमा सञ्चालनमा आएको छ।

त्यसो त करातेको यो तयारी ओलम्पिकलाई केन्द्रीत गरेर शुरु गरिएको हो। ओलम्पिकका लागि भने अनु अधिकारी र नवीन रसाइलीले ट्रेनिङ गरिरहेका छन्। उनीहरुबाहेकका केही अन्य खेलाडीहरु पनि ट्रेनिङमा आउने गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक दीपक श्रेष्ठले बताए। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको निर्देशनमा कम्तीमा फिटनेसचाहीँ बिग्रन नदिने लक्ष्यको साथ अभ्यास शुरु गराएको श्रेष्ठ बताउँछन्।

‘जहाँ जसरी सकिन्छ सुरक्षाका मापदण्डहरु अपनाएर शुरु गराउँ। बरु धेरै नराखौ थोरै जना बोलाएर भए पनि जसलाई अहिले लक्षित गरेका छौं कम्तीमा उनीहरुको चाहीँ फिटनेस नबिग्रियोस भनेर निर्देशन दिनुभएको थियो,’ प्रशिक्षक श्रेष्ठले भने।

यद्यपि कराँतेकै पनि यो अभ्यास पूर्ण रुप भने होइन। अझै कराँतेको पनि अन्य खेलाडीहरु अभ्यासबिहीन छन्। यस्तै अवस्था अन्य खेलकुदमा पनि छ।

फुटबलको मैत्रीपूर्ण खेलका लागि अभ्यास शुरु भएको छ। त्यसबाहेक केही खेलहरुलाई छाडेर अधिकांश खेल सञ्चालनमा आउने सुरसार छैन। यद्यपि श्रेष्ठ सुरक्षा सतर्कता अपनाएरै अन्य खेलाडीको अभ्यास शुरु गराउन सकिने अवस्था भने बनाउन सकिने बताउँछन्। हुन पनि पछिल्लो समय विभिन्न डोजोहरुले अभ्यास शुरु गराएको सामाजिक सञ्जालमा देख्न सकिन्छ।

अझ विभिन्न जिल्लामा अनौपचारिक खेलहरु नै पनि फाट्टफुट्ट देखिन थालेका छन्। यो खास असामान्य विषय पनि देखिँदैन किनभने खेलकुदबाहेक अन्य जनजीवन महामारीकै बीच पनि सामान्य अवस्था फर्किइ सकेको छ। अर्कोतर्फ विदेशमा हेर्ने हो भने अभ्यास त परको कुरा ठूला प्रतियोगिताहरु नै धमाधम भइरहेका छन्।

क्रिकेटमा आईपीएल चलेकै छ, फुटबलमा युरोपका शीर्ष लिग लगायत च्याम्पियन्स लिग, युरोपा लिग लगायतका प्रतियोगिताहरु धमाधम चलिरहेकै छन्। धेरै पर पुग्नै पर्दैन छिमेकी भारतमै भएको आईलिग छनोट खेलेर नेपाली फुटबलर अभिषेक रिजाल नेपाल फर्किइसकेका छन्।

छिमेकी भारतमै पनि खेलकुदको अभ्यासमा शुरु भएको महिनौ भइसक्यो। नेपालका प्रतिस्पर्धी देशहरुले अब प्रतियोगिता कसरी गराउने भन्ने तहमा पुगिसक्दा नेपालमा अभ्यास पनि फाट्टफुट्टमात्र शुरु हुँदै गरेको अवस्था देखिन्छ।

यसको पछाडि सम्बन्धित निकायहरुबीचको समन्वयको कमी मुख्य कारण रहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठको बुझाइ छ।

‘ओलम्पिक कमिटी हामीले स्वीकृतीका लागि पत्र पठाइसकेका छौं भन्ने अनि राखेप आफूले गराउन भनिरहेको छु भन्ने गरेको अवस्था छ। तर वहाँहरु बसेर समन्वय गरिरहेको अवस्था छैन,’ अध्यक्ष श्रेष्ठ भन्छन्।

ओलम्पिक तयारीको लागि बाहिरबाट फण्ड आइरहेको अवस्थामा ट्रेनिङलाई अझै ब्यवस्थित बनाउने कमिटीले राखेपसँग समन्वय गराउन सक्ने उनको बुझाइ छ।

समग्रमा हेर्दा संघ, कमिटी र परिषदबीच समन्वयको आवश्यकता खड्किएको देखिन्छ। महत्वपूर्ण विषय भनेको यसरी एकअर्काको मुखताकेर बस्ने हो भने यसको मूल्य नेपाली खेलकुदले नै चुकाउनु पर्ने हुन सक्छ।



ट्रेन्डिङ पोस्ट

Ncell