इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकताले राजस्थानलाई ६० रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।
कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रमक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे।
त्यस्तै, राहुल त्रिपाठीले ३९ रन बनाउँदा शुभमन गिलले ३६ र आन्द्रे रसेलले २५ रन बनाए।
उता राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३ विकेट लिँदा कार्तिक त्यागीले २ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र समान १/१ विकेट लिए।
१९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाउन सक्यो।
राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाउँदा राहुल तेवातियाले ३१ रन जोडे। त्यस्तै, श्रेयश गोपालले २३ रन तथा बेन स्टोक्सले १८ रन जोडे।
कोलकताका लागि प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम मावीले २/२ तथा कमलेश नगरकोटीले एक विकेट लिए।
जितसँगै अंक तालिकाको चौँथो स्थानमा उक्लिएको कोलकताले प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। मंगलवार हुने खेलमा मुम्बइ इन्डियन्ससँग सनराइजर्स हैदराबाद पराजित भएमा कोलकता प्लेअफमा जानेछ। त्यस्तै, सोमवार हुने खेलमा दिल्ली क्यापिटल्स अथवा रोयल च्यालेन्जर्स बेंग्लोर ठूलो अन्तरले पराजित भएमा पनि कोलकता प्लेअफमा जाने सम्भावना रहन्छ।
