काठमाडौं: प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर अघि बढ्ने प्रस्ताव गरेपछि नेकपाका नेताहरुले चिन्ता व्यक्त गरेका छन्। प्रस्तावपछि पूर्वएमालेको ओली र माधवकुमार नेपाल समूह आक्रामक देखिएको छ भने पूर्वमाओवादी समूह मौन छ।
सामाजिक सञ्जालमा नेपाल समूह र पूर्वमाओवादी समूह एकता बचाउने पक्षमा देखिएको छ भने ओली समूहका नेताहरु अलग हुने मनस्थिति प्रस्तुत गरिरहेका छन्। ओली निकट मानिएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापासहितका पूर्वमाओवादी नेताहरु मौन छन्।
अझ ओली समूहले त माधव नेपाल समूहसँग मिल्नका लागि गृहकार्य पनि सुरु गरिसकेका छन्। ओली समूहका नेता शंकर पोखरेल, विष्णु रिमाल, राजन भट्टराई सूर्य थापा, भानुभक्त ढकाल माधव नेपाललाई ओलीसँग मिलाइदिन नेता प्रदीप नेपालको निवास समेत पुगेर अनुरोध गरेका छन्।
कसले के भने?
भीम रावल
विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्। स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्। यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ। समझदारी, एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।
विष्णु पौडेल
यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।
नारायणकाजी श्रेष्ठ
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हासिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन। फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेश बिरुद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं। पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन। ब्यक्तिवाद, अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ।
शंकर पोखरेल
विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो? भन्नु राम्रो हो। अर्कोले के भन्यो? भन्दा सदैव आग्रह मिसिन्छ ।
रामकुमारी झाँक्री
पार्टी किन फुट्ने होला? अनि कसले फुटाउने होला? सबै थोक गर्न दिएकैछ/पाएकै छन्। अब पार्टी फुटाएर त्यो बैभव पाउने पनि होइन। पार्टी सदस्य र समर्थकको दिमाग किन खाएको होला?
विष्णु रिजाल
पक्कै पनि नेकपामा समस्या छ। तर, यति आधारमै पार्टी फुट्दैन। यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तरार्द्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन्। मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ। ‘स्यालको शिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो। भनिन्छ नि- ठूलो घरको ठूलै चाला!
गोकुल बास्कोटा
सिद्धान्त र संगठनात्मक प्रणाली सहितको संकट उत्पन्न भएको भए पो सङ्कट मान्नु। लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि। वेकारको हल्ला।
ठाकुर गैरे
पार्टी बिभाजन गरिएमा अक्षम्य अपराध हुनेछ। सत्तास्वार्थ, लेनदेन र दाउपेचको राजनीति छोडेर नीति र बिधिमा एकता खोज्नुहोस्।
