वीरगंजः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता मुकेश चौरसिया हत्या अभियोगमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा विन्वासिनी गाउँपालिका ५ प्रसौनीका ३५ वर्षिय उत्तम तिवारी रहेका छन्।
उनलाई प्रहरीले वीरगंज १६ ईनार्वाबाट लुकिछिपी बसेको अवस्थामा आईतवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन्।
मुकेशको हत्या मुद्दामा उत्तम तिवारी भनिने निरन्जन तिवारीमाथि किटानी जाहेरी परेको छ। उत्तमका भाई चिन्टु तिवारी भनिने शंकर तिवारी भने अझै फरार छन्। गत कात्तिक ६ गते बिहीवार झडप हुँदा सामान्य घाइते भएका उत्तम र चिन्टु उपचारको क्रममा प्रहरीलाई झुक्याएर इमरजेन्सी वार्डबाट आईसीयूमा सिफ्ट हुने क्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट फरार भएका थिए।
पूर्वसांसद राजकुमार गुप्ता र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको सेटिङमा पर्सा प्रहरीको लापारवाहीले यी दुई दाजुभाई अस्पतालबाट फरार भएको भन्दै आलोचना भएको थियो।
मुकेशको हत्यामा पूर्व सांसद गुप्तासहित १२ जनामाथि किटानी जाहेरी दर्ता भए पनि हालसम्म देवा सहनी, हनिफ मिया र उत्तम तिवारी पक्राउ परिसकेका छन् भने ९ जना फरार छन्। पर्सा प्रहरीले शुरुमा जाहेरी दर्ता नगरिदिँदा एक सातासम्म वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन भएको थियो।
पीडित परिवारले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएपछि परिवारजनले शव बुझेर दाहसंस्कार गरेका थिए।