PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'ग्लास हाउस' विद्यालयका विद्यार्थी बिदामा, पर्यटकको भने यस्तो चहलपहल

'ग्लास हाउस' विद्यालयका विद्यार्थी बिदामा, पर्यटकको भने यस्तो चहलपहल

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौंको शंखरापूर नगरपालिका ३ को ढोक्सानस्थित श्री शिलादेवी आधारभूत विद्यालयमा आजकल घुम्न पुग्नेहरूको भिड लाग्ने गरेको छ। डाँडाको माथि रहेको विद्यालयबाट रमणीय हिम श्रृङ्खला देख्ने सकिन्छ। तर, पर्यटकहरू हिम श्रृङ्खला हेर्नै मात्र भने त्यहाँ पुगेका होइनन्।

उनीहरूलाई त्यहाँसम्म आकर्षित गरेको हो विद्यालयको भवनले।

सन् २०१८ मा सुपरटेक्चरसँगको सहर्कायमा प्याटरिजियाले विद्यालयलाई विस्तार गर्न सहयोग गरेको थियो।

सन् २०१२ देखि संचालनमा आएको उक्त विद्यालयमा १ देखि ५ सम्म पढाइ हुन्थ्यो। ४ वटा भवन बनेपछि भने कक्षा ८ सम्म नै संचालन गर्ने वातावरण बन्यो। २०७२ सालपछिको भूकम्पपछि विद्यालयमा बनेको चारवटा नमूना भवन हेर्न नै दैनिक मानिसहरू त्यहाँ पुग्ने गरेका छन्।

भवनलाई आकर्षक बनाएको छ त्यसमा राखिएका झ्यालहरूले।

विद्यालयले परिसरमा बनेको चार वटा घरलाई चारवटा नाम दिइएको छ। अर्थ हाउस, रक हाउस, विन्डो हाउस र ब्रिक हाउस।  

विद्यालय परिसरभित्र प्रवेश गर्ने बित्तिकै झ्यालैझ्यालले बनाइएको 'विन्डो हाउस' देख्न सकिन्छ। त्यहाँ पुग्नेहरुले भने उक्त घरलाई 'ग्लास हाउस' पनि भन्ने गर्छन्। विद्यालयले यसलाई लाइब्रेरीको रुपमा प्रयोग गर्ने गरेको छ। घुम्न पुग्ने पर्यटकहरू भने 'ग्लास हाउस' भित्र तस्विर लिन गइरहेको देख्न सकिन्छ। यो भवनमा प्रयोग गरिएका अधिकांश झ्‍यालहरू २०७२ सालमा गएको भूकम्पमा ढलेका घरहरूको प्रयोग गरिएको बताउँछन् विद्यालयका प्रिन्सिपल मानबहादुर पाख्रिन।

'सुपरटेक्चर, विद्यालय प्रशासन र अभिभावक मिलेर कसरी सामानहरूको पुन: प्रयोग गर्न सकिन्छ भनेर हामीले सल्लाह गर्‍यौं। सुपरटेक्चरको डिजाइनमा यी भवनहरू बनाइए,' पाख्रिनले सुनाए।

'विन्डो हाउस'पछि ढुंगाले बनाइएको अर्को रक हाउस रहेको छ। त्यहाँ भने सिसालाई गोलकार आकारमा राखेर झ्याल बनाइएको छ। त्यस्तै, बाँस र इट्टाले अर्को भवन बनाइएको छ। अहिले यिनै भवनहरूमा पुगेर तस्विर खिच्न पुग्नेको विद्यालयमा घुँइचो लागेको छ।

मानबहादुर भन्छन्, 'वातावरणमैत्री र भूकम्प प्रतिरोधी भवन बनाएका छौं। हरेक भवनको स्वरुप, आकार फरक फरक छ। विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन हामीले प्रयास गरेका छौं। एउटा भवनमा पढेकालाई अर्कोमा जान इच्छा जागोस् भन्ने हाम्रो उद्देश्य हो।'

कोरोनाका कारण केही समय विद्यालय बन्द थियो। हाल भने स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय संचालन भइरहेको उनले बताए। तर यतिखेर महिना दिन लामो बिदा चलिरहेको छ। हाल विद्यालयमा १ सय ३५ जना विद्यार्थी रहेका छन्। विद्यालय खुलेको दिन पनि संक्रमणका कारण भने सबै विद्यार्थीलाई एकसाथ पढाइएको छैन। विद्यार्थीहरूलाई रोटेसन अनुसार पढाउँदै आएको पाख्रिनले बताए।

हाल विद्यालय परिसर पुग्ने मानिसहरूको संख्या बढ्दै गएको छ। विद्यालय प्रशासनले यसरी आउनेलाई कुनै रोकतोक गरेको छैन।

'कोही हेर्न आउँछ भने हामीले सबैलाई आउन दिएका छौं। तर, यहाँ आएर पिकनिक मनाउने, होहल्ला गर्न भने दिएका छैनौं,' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell