पाकिस्तानी वेब सिरिज 'चुरेल्स' विवादमा तानिएको छ। सिरिजका केन्द्रिय पात्र रहेका महिलाहरूको प्रभावकारी भूमिकाका कारण विवाद चर्किएको हो।
१० अंकको सिरिजमा फरक क्षेत्रमा सक्रिय महिलाहरूलाई देखाइएको छ। उनीहरू एक समूह बन्छन् र चुरेल्स नामक जासुसी संस्था स्थापना गर्छन्। उक्त कार्यक्रम पाकिस्तानमा प्रदर्शनको लागि प्रतिबन्ध लगाइयो। सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदर्शन रोकिएको हो।
बीबीसीका अनुसार नियामक निकायले भारतीय भिडियो प्ल्याटफर्म जीफाइभलाई पाकिस्तानी दर्शकका लागि भिडियो उपलब्ध नगराउन आग्रह गरेको हो।
निर्देशक असीम अब्बासीले यस कदमले आफूलाई निराश बनाएको बताएका थिए। ट्वीटमा लेखेका थिए,'यो कलात्मक स्वतन्त्रताको हनन हो। अन्य देशमा प्रशंसा कमाउँदा आफ्नै देशमा प्रतिबन्ध भयो।'
पाकिस्तानीहरूले सिरिजको पाइरेटेड भर्सन हेरिरहेको बीबीसीमा उल्लेख गरिएको छ।
सिरिजमा धनी परिवारकी वकिल, कार्यक्रम आयोजक, किशोरावस्थाकी बक्सर र जेलबाट भर्खर निस्किएकी महिलालाई पितृसत्ताका कारण भोग्नु परेको अन्यायले जोड्छ। उनीहरू गोप्य जासुसी संस्था स्थापनाका लागि बुटिक खोल्छन्। जासुसी संस्था लुकाउन।
उनीहरूको उद्देश्य अन्य महिलालाई सहयोग पुर्याउनु हो जसलाई आफ्नो पतिमाथि शंका लाग्छ।
सिरिजले बालबालिका, विवाह, दूर्व्यवहार, जबरजस्ती विवाह, वर्ग असमानता लगायत विषयको समेत उठान गरेको छ।
