PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा विवादमा निर्णायक रहेका माधव नेपाल किन छन् मौन?



कुञ्जरमणि भट्टराई

नेकपा विवादमा निर्णायक रहेका माधव नेपाल किन छन् मौन?

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्ति संघर्ष चुलिँदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपाल मौन छन्। कतिपयले वर्तमान संकट टार्ने भावी प्रधानमन्त्रीका रूपमा प्रचार गर्दै गर्दा नेपालले प्रधानमन्त्रीबारे आफ्नो नाममा विमर्श गर्ने समय नआएको प्रतिक्रिया दिएका छन्।

मौनतामा रहेका नेपाल यतिबेला शक्ति संघर्षमा रहेका दुबै पक्षका लागि आवश्यक छन्। दुबै पक्ष फकाउने दाउमा पनि। तर, नेपाल पक्षीय नेताहरूले उनलाई तत्काल कुनै निर्णय नलिन सुझाइरहेका छन्। दुई अध्यक्षबीचको विवाद निष्कर्षमा पुर्‍याउन नेपाल निर्णायक देखिन्छन्। नेपाल जता ढल्क्यो उतैको पल्ला भारी हुने अवस्था आउँदा नेता नेपाल कता ढल्किने भन्ने चेपुवामा छन्।

आइतबार खुमलटारमा ओली इतरका बहुमत सचिवालय सदस्यहरूको भेलामा प्रचण्डले ( ओलीले पार्टी अलग गराउन प्रस्ताव गरेको ब्रिफिङ गरेसँगै पार्टी फुटको विषयमा पूर्व एमाले समूहका नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। अर्कोतर्फ पूर्व माओवादी केन्द्र समूहबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकले धारणा राखेका छैनन्।

एकतालाई जोगाउनुपर्ने पक्षमा धेरै नेपाल समूहका नेताहरूले अभिव्यक्ति दिइरहेका छन्। आफ्नो समूहबाट सामाजिक सञ्जालहरूमा एकताको पक्षमा अभिव्यक्त दिइरहँदा एकतालाई जोगाउन नेता नेपाल पनि निर्णायक मोडमा देखिएका छन्।

विवाद समाधान भएको भनिएको महिना दिन नबित्दै कर्णाली प्रदेशबाट पूर्व एमाले र पूर्व माओवादी समूहबीचको विवाद केन्द्रसम्म आइपुग्यो। तत्कालका लागि नेता नेपाल र प्रचण्डबीचको सहमतिपछि कर्णालीको विवादले त्यहाँको सत्ता तत्काल त जोगायो। तर, केन्द्रमा गएको परकम्पको असर भने पार्टी फुटको संकेत दिइरहेको छ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकमा १७ बुँदे लिखित आलोचनात्मक टिप्पणी प्रस्तुत गरेका नेता नेपालले हरेक जस्तो पार्टी कमिटीको बैठकमा फरक मत राख्दै आएका छन्।

उनले स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच चोचोमोचो मिलेर मात्र पार्टी एकताको रक्षा नहुने टिप्पणीसमेत गरेका थिए।

राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख र प्रधानमन्त्री ओलीबीचको भेट लगायतका विषयले थप विवाद उत्पन्न भएको छ।

पछिल्लो पटक दूरी बढ्दै गएको अवस्थामा यही बीचमा ओलीले नेपाललाई दुई पटक बालुवाटारमै बोलाएर छलफल गरे। बालुवाटारमा आउनै छाड्नुभयो भन्दै भेटघाटलाई निरन्तरता दिन ओलीले नेपालसँग भनेका थिए।

भेटमा ओलीले आफूसँग मिलेर जान प्रस्ताव राखे पनि नेता नेपालले ओलीलाई कार्यशैली सच्याउन सुझाव दिए।

अर्को तर्फ नेता नेपाललाई प्रचण्डले निरन्तर रूपमा भेट गरिरहेका छन्। यही बीचमा प्रचण्डले पार्टीभित्र नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको स्रोतले दाबी गरेको छ।

+++

दुई अध्यक्षबीच शनिबार बालुवाटारमा भेट भयो। सोही भेटको विषयमा आइतबार सचिवालयका बहुमत सदस्यहरूसँग प्रचण्डले खुमलटारमा छलफल गरे। सोही भेटले पार्टी एकतालाई जोगाउनुपर्ने भन्ने निष्कर्ष त निकाल्यो। तर जिम्मेवारी कसले लिने? ओली र प्रचण्डबीच विवाद बढिरहेका बेला नेता नेपालले यसमा निर्णायक भूमिका खेल्न सक्नुहुन्छ', आइतबारको ब्रिफिङबारे जानकार नेकपा स्रोतले भन्यो।

यति हुँदा हुँदै पछिल्लो समय नेता नेपाल प्रचण्डसँग पूर्ण ढुक्क भने हुन सकिरहेका छैनन्।

चेपुवामा नेपाल

अहिले नेता नेपाल दुबै अध्यक्षसँग मिल्नु पर्ने अप्ठ्यारो मोडमा रहेको कम्युनिस्ट नेता राधाकृष्ण मैनाली बताउँछन्। ‘नेकपा तत्काल फुट्ने देखिँदैन। नेकपामा माधव नेपाल निर्णायक भूमिका रहँदारहँदै पनि अप्ठ्यारो अवस्थामा हुनुहुन्छ’, पहिलोपोस्टसँग उनले भने, ‘ओलीजीले प्रचण्ड र माधवको मनोविज्ञान बुझेका छन्। पार्टी फुटाएर माओवादी बनेर सत्तामा जान सकिँदैन भन्ने प्रचण्डलाई लागेको छ। एमाले छोडेर माओवादीसँग मिल्न राम्रो हुँदैन भन्ने माधवजीलाई लागेको छ, पार्टी छोडेर जाने भए जाऊ भनेर फट्कारेका हुन्। साँच्चै फुटिहाल्ने अवस्था होइन।’

अहिलेको टकराब सत्ता र शक्ति संघर्षको हो। यो दुई अध्यक्षको मात्र नभई नेता नेपालबीचको पनि शक्ति संघर्ष हो।

ओलीलाई न्यारो डाउन गर्न नेपाल-प्रचण्डको मिलाप

यतिबेला माधव नेपाल र प्रचण्ड साँच्चै मिलेमात्र ओलीलाई अफ्ठायोरमा पार्न सक्ने मैनाली बताउँछन्।

‘अहिले प्रचण्डले माधवलाई नै प्रधानमन्त्री बनाउने कुरा पनि सुन्नमा आएको छ। यी दुई साँच्चै मिले भने ओलीको अराजकतालाई कन्ट्रोल गर्न सक्छन्। माधव-प्रचण्डबीच रेखा कोर्ने र एक अर्कालाई शंका गर्ने कुरा आयो भने अघि बढ्न सक्ने स्थिति आउन सक्दैन’, उनले भने।

यति हुँदाहुँदै पनि प्रचण्ड र माधव पनि मिलेर जाने विश्वासिलो वातावरण बनि नसकेको नेता नेपाल निकटका एक नेताले बताए। ‘ओलीको अराजकतालाई कन्ट्रोल गर्नै पर्छ। त्यसका लागि प्रचण्ड र नेपाल मिल्नै पर्छ’, ती नेताले भने, ‘यति हुँदाहुँदै पनि पूर्णरुपमा विश्वासको वातावरण भने बनिसकेको छैन। जति सहकार्य हुनुपर्थ्यो हुन सकेको छैन। थप छलफल र विश्वासको वातावरण तयार गर्ने काम प्रचण्डले गर्नुपर्छ।’

‘प्रचण्ड-माधवबीच शक्ति बाँडफाँडमा कुरा मिले पनि उनीहरुबीच मिलेर जाने सुदृढ अवस्था त देखा परेको छैन’, नेता मैनाली अगाडि भन्छन्, ‘तर बाध्यताले अहिले एक ठाउँमा उभिएका दुई नेताबीच वैचारिक मतभेदलाई टुङ्ग्याउँदै गएर विश्वासको वातावरण बनाउन सक्नुपर्छ। तब मात्र ओलीजीलाई पार्टी कमिटीको दायरामा ल्याउन सक्नुहोला।’

अहिले प्रधानमन्त्री ओली नै नेकपाभित्र एकल नेतृत्व गरिरहेको र पार्टी कमिटीको दायरा भन्दा बाहिर रहेको मैनाली बताउँछन्।

ओलीसँग मिले गुट भत्किने डर

अर्कोतिर नेता नेपाललाई आफ्नो पक्षमा ल्याएर पार्टीभित्र प्रचण्डलाई एक्लाउने दाउमा ओली छन्। ओलीले यसअघि पनि नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा सहयोग गर्ने र त्यसपछिको प्रधानमन्त्री पनि नेपाल नै हुने भनेर अस्त्र फालिसकेका छन्।

‘‌ओलीमा माधवलाई आफ्नो गुटमा ल्याए भने प्रचण्डलाई सजिलोसँग खेलाउँछु भन्ने छ। पूर्व एमाले र लामो समय सहकार्य गरेको हिसाबले पनि ओली माधवलाई तान्न चाहन्छन्,' मैनालीले भने, ‘माधवको खरो र टर्रो खालको स्वभाव पनि छैन। थामथुम पार्न सकिन्छ भन्ने ओलीले जानेका पनि छन्।’

तर, अहिलेकै अवस्थामा नेपाल ओलीसँग मिलेर जाने अवस्था पनि बनेको छैन।

‘ओलीलाई राजनीतिमा धेरै सिकाएका नेता हुन् नेपाल। अहिलेको अवस्थामा हिजोको गुन ओलीले बिर्सेर जसरी पेलिरहेका छन्। त्यसलाई बिर्सेर उनीसँग मिलिहाल्ने वातावरण छैन’, नेपाल निकटका एक स्थायी कमिटी सदस्यले भने, ‘सहकार्यको वातावरण नबन्दै हतारमा जाने हो भने ओलीको पेलाई थप बढ्छ। अस्तित्व मेटिन्छ। मिल्ने कुरा नै आउँदैन।’

‘अहिले ओलीले पार्टी राजनीति तथा सरकारमा हाम्रा साथीहरूलाई छानी छानी किनारा लगाइरहेका छन्। यस्तो अवस्थामा नेपाल ओलीसँग मिले भने हिजोदेखि साथ दिइरहेका हामीहरूले उहाँलाई साथ दिने वातावरण नै रहन्न’, ती नेताले भने।

नेता नेपाललाई आफ्नो गुट रक्षा गर्नका लागि पनि ओलीसँग मिलिहाल्ने वातावरण छैन। सरकार र पार्टी नेतृत्वको खुलेर आलोचना गर्नेमा अहिले नेपाल समूहका नेताहरू नै अगाडि छन्। उनीहरूले स्थायी कमिटीको बैठकमा र बैठक अगाडि पनि पटक(पटक ओलीको राजीनामा माग गरिरहेका थिए। यस्तोमा अहिले नै ओलीसँग मिले यसअघि साथ दिइरहेका नेता कार्यकर्ताहरूको साथ छुट्ने चिन्ता नेपालसँग छ।

‘हो नेपाल कामरेड पार्टी एकता जोगाउन तथा पार्टीलाई विधि र विधान अन्तर्गत ल्याउनका लागि निर्णायक भूमिकामा हुनुहुन्छ। उहाँले यो भूमिका खेल्न सक्नुपर्छ’, अर्का स्थायी कमिटी सदस्यले भने, ‘तर, उहाँ आफैँ पनि दुई अध्यक्षबीचको चेपुवामा हुनुहुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell