PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

कोरोना संक्रमणका कारण नेपालगञ्जमा महिला वडा सदस्यको मृत्यु



रासस

कोरोना संक्रमणका कारण नेपालगञ्जमा महिला वडा सदस्यको मृत्यु

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको सोमवार बिहान साढे १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

नेपालगञ्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो। उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन्। विभिन्न विधिबाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ। बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन्।

यसैबीच, सोमवार नै भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालद्वारा सोमवार दिउँसो ३ः४५ बजे जारी गरिएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। अस्पतालका अनुसार थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन्।

यसैगरी, बाँकेमा सोमवार ४४ कोरोना संक्रमित निको भई घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेसनमा रहेका २९ पुरुष र १५ महिला निको भई घर फर्किएका छन्। योसँगै बाँकेमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ।

स्रोत व्यक्ति श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ। अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell