PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ बजार एक साताका लागि बन्द



रासस

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ बजार एक साताका लागि बन्द

बागलुङ : कोरोना रोकथामका लागि बागलुङ नगरपालिकाको बडा नम्बर १, २, ३ र ४ वडा सोमवार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो।

बैंक तथा वित्तीय संस्था पनि बन्द हुने जनाइएको छ। यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघले समेत कोरोना संक्रमणको जोखिम बढेको भन्दै लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो। खाद्यान्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सञ्चालन रहने छन्।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिए। यस्तै, मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुनेछन्। ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन्।

सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ। औषधि, खाद्यान्न खरिद र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनसाधारणलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताए। सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ।

बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ। बागलुङ बजार क्षेत्रमा संक्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि लकडाउन गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। उनका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell