PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कामनपाको मुखमा पोतिएको कालो [सम्पादकीय]



पहिलोपोस्ट

कामनपाको मुखमा पोतिएको कालो [सम्पादकीय]

लामो कोरोना भाइरसको प्रभावका कारण गाँस गुमाएका मानिसहरुलाई उदार मन भएकाहरुले खुवाउँदा शहरको शोभा गुमाएको निचोडमा पुग्यो काठमाडौं महानगरपालिका। एउटा वैभवशाली शहरको उदारमन चरित्रलाई उसको एउटा निर्णयले धुलोमा मिसाइदिएको छ। सहयोगी हातहरुलाई निस्तेज बनाउने गरी महानगरपालिकाले गाँसमाथि गरेको अतिक्रमण असहिष्णु चरित्रको पराकाष्ट हो। राज्य कसरी राज्यहीनतातिर लाग्दैछ भन्ने यसले फेरि देखाएको छ। नेपाली हुनुमा गर्व गर्नेहरु एकपटक पुन: सोच्न बाध्य भएका छन्।

वैभवशाली परम्परा थेगेको कान्तिपुर नगरी उदारमन भएका मानिसहरुको थातथलो हो। तर, शासकको सोचलाई साथ दिँदै काठमाडौं महानगरले कोरोना भाइरसको संक्रमणको भयावह अवस्थामा जस्तो भूमिका खेलेको छ त्यसले उसको पहिचान स्खलितमात्र होइन, पूरै प्रदुषित बनिसकेको पुष्टि गर्छ। काठमाडौं नगरपालिकाबाट जब काठमाडौं महानगरपालिकामा यसको रुपान्तरण भयो व्यङ्ग्य गर्नेहरुले छोटकरी नाम दिएका थिए - कामनपा। यथार्थमा त्यो व्यङ्ग्यलाई यतिखेर मेयर विद्यासुन्दर शाक्यले यथार्थमा परिणत गरेका छन् - काठमाडौं महानगरपालिका वास्तवमै कामनपा हो। यसको कुनै हैसियत छैन।

जनमतको उन्माद, दलीय गुटगत राजनीतिको गोलचक्कर र सत्ता समिकरणमा भुलेको सरकारले जनताको दैनिकीसँग जोडिएका आधारभुत विषयलाई सम्बोधन गर्न कुनै पनि कोणबाट सकेको छैन। सरकारको अनुपस्थितिले स्थिति भयावह बन्दै गयो। रोजीरोटीका लागि श्रम बेच्नेहरु बेसहारा बने। ठीक यही परिस्थितिलाई देखेर मन बुझाउन नसक्ने समूहहरु भोकाको पेट भर्न सक्रिय भए। उनीहरुलाई प्रोत्साहन गर्नुको साटो कामनपाले शहर फोहर भएको देख्यो। कैयौं दिन थुप्रिएको फोहर नदेख्ने महानगरले मानिसहरुको पेट भरिँदा असभ्यता महसुस गर्‍यो। 

काठमाडौं महानगरपालिकाले सडकमा असाहय रहेकालाई आफ्नै पहलमा मानव सेवा आश्रममा आश्रय दिइरहेको दावी गरेको छ। भोलि चुनावी सफलताको सूचीमा मानव सेवा आश्रमका सेवकहरुले गरेको मेहनतलाई उसले आफ्नो दावी गर्ने निश्चित छ। दुई वटा घरका भाडा तिरेकै भरमा मानवतावादी मनहरुले गरेको कामलाई आफ्नो खातामा हाल्ने दुस्प्रयास आफैँमा निन्दनीय छ। किनकि आफू केही नगर्ने र सजिलो हिसाबले जस लिने हैसियतमा झरेको छ - कामनपा।

पीएल सिंह र केशव स्थापितहरुले राखेको महानगरको मानलाई विद्यासुन्दर शाक्य नेतृत्वले तहसनहस बनाएको छ। सम्पदा संरक्षणमा होस् या महानगरवासीका समस्या सम्बोधनमा, अहिलेको नेतृत्व पूर्ण रुपमा असफल भइसकेको छ। महानगरपालिकाको पछिल्लो निर्णयले उसको असली चरित्र सार्वजनिक भएको छ। कोभिड १९ को संक्रमण हुँदा सोल्टी होटेलको सेवा लिने महानगरपालिकाका प्रमुखले भोकाहरुले सडकमा खाना खाँदा सह्य नहुनुले के संकेत गर्छ? यतिखेर त महानगरपालिकाले उल्टै असहज अवस्था भोगिरहेका मनहरुलाई शान्त बनाउने कार्यक्रम ल्याउनुपर्ने थियो। भोकाहरुको पेट जसले भरिरहेका छन्, उनीहरुलाई उत्प्रेरित गर्नुपर्ने थियो। व्यवस्थित गर्नुपर्ने लाग्थ्यो भने - सहकार्यका लागि हात बढाउनुपर्ने थियो। त्यसैले तत्काल मेयर विद्यासुन्दर शाक्यले माफ माग्नुपर्छ - आफ्नो गलत निर्णयको। र, सहयोगको हात बढाउनुपर्छ तिनीहरुसँग जसले बिल्कुलै नथाकी भोकाहरुको पेट भरिरहेका छन्। अन्यथा राजधानीको वैभव र कान्तिपुरी नगरीको उदारमन चरित्र सधैंका लागि सकिनेछ। र, कालो धब्बा लाग्नेछ महानगरमाथि, सधैका लागि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell