PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

निजगढको शीतल झरनामा आन्तरिक पर्यटक बढ्दै



राधेश्याम पटेल

निजगढको शीतल झरनामा आन्तरिक पर्यटक बढ्दै

वीरगंज : मध्यतराईका पर्सा, बारा, रौतहट जिल्लामा पर्ने चुरे क्षेत्रमा पर्यटकीय सम्भावना बढ्दै गएको छ। पर्साको ठोरी, पर्सा राष्ट्रिय निकुञ्ज, अमलेखगंज हात्ती सार, बाराको निजगढको शीतल झरना, मोहरी पार्क तथा रौतहटको बागमती किनारको नुनथरलगायतले चाडपर्व र बिदाका दिन पर्यटकलाई लोभ्याउने गरेको छ। दशैं तिहारबीचमा बाराको निजगढ नगरपालिका वडा नं ३ सिघौलको शीतल झरनामा अहिले आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ।

दैनिक ५०– ६० जना आन्तरिक पयर्टक झरनामा नुहाउने गरेकोमा बिदाको दिन शनिवार करिब डेढ दुई सय जना पर्यटक शीतल झरनामा पुग्ने गरेको स्थानीयहरु बताउँछन्। निजगढबाट उत्तरतर्फ लागेपछि बगरको तीन वटा खोला पार गरी एउटा डाँडा पार गरेपछि उक्त झरना पुगिन्छ। यातायातको हिसाबले दुर्गम भए पनि झरनाको नजिक बाइकमै पुग्न सकिन्छ र आधा घण्टा पैदल यात्रा गर्नुपर्छ झरना पुग्न।

यसलाई सिघौलको पिपलडारको झरना पनि भनिने गरिन्छ। झरनाको मज्जा लिन पाउँदा खुशी लागेको वीरगंजका मनोहर साह बताउँछन्। उनीसहित ६ जना साथीको समूह गत बिहीवार शीतल झरना पुगेका थिए। स्थानीय सरकारले उक्त पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवर्द्धन गरे आन्तरिक र बाहिरी पर्यटक तान्न सकिने बारा होटल व्यवसाय संघका अधयक्ष मोहन शर्मा बताउँछन्। निजगढको झरनामा यातायात, होटल रेस्टुरेन्टको सुविधा नरहेकोले ती कुराको सुविधा दिए वीरगंज र भारतीय पर्यटकलाई पनि त्यहाँसम्म तान्न सकिने होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त बताउँछन्। त्यसैगरी, पर्साको ठोरी र सुवर्णपुरमा होम स्टे, राधई धारा, झुलुंगेपुल, बाराको अमलेखगंजमा कामिनी दह, पुरानो रेल्वे टिकट घर, प्रकृतिक सौन्दर्य, हलखोलियाको जंगल, चकरीमा होम स्टे, निजगढको मोहरी पार्क, फास्ट ट्र्ययाक, बाराको गढिमाई, रौतहटको विभिन्न पर्यटकीय गन्तव्यलाई समेटर टुर प्याकेज बनाएर पर्सा राष्टिय निकुञ्जमा जिप सफारी, हात्ती सफारी र पशुपक्षीं तथा वन्यजन्तुको लागि रामभौरी भाठालागयते सिन साइट विकास गरे पर्यटकीय विकास गर्न सकिने व्यवसायीहरुको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell