काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दु:ख प्रकट गरेका छन्। नेपाली काँग्रेसका सांसद एवम् व्यवसायी केसीको हिजो राति निधन भएको हो।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने परिवारजनामा समवेदना प्रकट गरेका छन्।
संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 3, 2020
'सुगर लेभल' स्वाट्टै घटेपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केसीको बैंक तथा वित्तीय संस्थाहरुमा लगानी छ। दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन गरेको श्रेय उनलाई जान्छ। उनको कम्पनीले चर्चित ब्रान्ड 'रारा चाउचाउ' उत्पादन गर्छ। उनी लामो समय माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष समेत भएका थिए। केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्। उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले सांसद भएका थिए।
केसीको लगानीमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक खुलेका छन्।
उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत थिए।
केसीको पाँच बर्षअघि किड्नी ट्रान्सप्लान्ट गरिएको थियो।
