
कैलाली : कैलालीमा झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा झुटो विवरण बनाएर नेपाली नागरिकता लिएको आरोपमा उनी गत शुक्रवार पक्राउ परेका थिए। कैलालीकै टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
उनीसँगै पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भने २५ हजार धरौटी बुझाएर रिहा भएका छन्। जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले घटनाको छानबिन प्रक्रिया थालेको थियो।
यस्तै सोही घटनामा नेपाली नागरिकता दिलाउन अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी पनि अदालतले माग गरेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। चौधरीसँगै पक्राउ परेकी गीता चौधरी भने साधारण तारेखमा छुटेकी छन्।
सम्बन्धित समाचार
भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ