काठमाडौं : बाग्लुङ जिल्लामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मंगलबार बिहान ६६ वर्षका एक जना संक्रमितको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विकले जानकारी दिए।
योससँगै बाग्लुङमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ६ पुगेको छ। १२ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका जिल्लाको बाग्लुङ नगरपालिका ३ का का ६६ वर्षीय पुरुषमा १४ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
उनलाई अस्पतालको आईसीयुमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको बिहान १०:२० बजे मृत्यु भएको डाक्टर विकले जानकारी दिए। मृतकमा उच्च रक्तचाप, थाईराइडका साथै मधुमेहको समेत समस्या रहेको उनले जानकारी दिए। कोभिड-१९ पोजेटिभ भई धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु हुने उनी पहिलो ब्यक्ति हुन्।
