काठमाडौं : र्यापर भिटेन उर्फ समिर घिसिङलाई पक्राउ नगर्न अदालतमा आदेश गरेको छ। उच्च अदालत पाटनका न्यायधिश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो। फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न अन्तरिम आदेश जारी भएको हो।
उनले कार्तिक १६ गते निषेधाज्ञा विरुद्ध निवेदन दिएका थिए। आज भिटेनको रिट निवेदनमा बहस भएको हो।
कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। भिडियोमा उनले अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धान अगाडि बढाउन केन्द्रीय अनुसन्धान व्युरोलाई पत्राचार गरेको थियो। त्यसपछि भिटेनले आफ्नो भिडियो युटुवबाट हटाएर माफी समेत मागिसकेका छन्।
प्रहरीको अनुसन्धानको घेरामा परेपछि उनी अदालत पुगेका हुन्।
एक वर्षअघि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गीतमा उनले प्रहरीलाई डण्ठे सम्बोधन गरेकोदेखि अश्लील गाली गरेको भन्दै पक्राउ गरेको थियो। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेकामा आपत्ति जनाइएको थियो।
पछिल्लो भिडियोको सुरुमा नै प्रहरीको गाडी बिस्फोट गराएको देखाइएको छ। यसपटक पनि प्रहरीलाई 'डण्ठे' शब्द दोहोर्याएका छन्। यही विषयलाई लिएर प्रहरीले भिटेनको गीतमाथि अनुसन्धान सुरु गरिसकेको छ।
