PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

भोजपुरमा पहिलोपटक सञ्चालनमा आयो कोभिड-१९ अस्पताल



रासस

भोजपुरमा पहिलोपटक सञ्चालनमा आयो कोभिड-१९ अस्पताल
फाइल फोटो।

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो।

जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन्।

‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीय विष्णु भट्टराईले भने, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ।’

केन्द्र सरकारको निर्देशनानुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ। केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। अस्पताल निर्माणले कोरोना भाइरस संक्रमितसँगै गर्भवती महिला, बालबालिका, वृद्धावृद्धालाई समेत सहज भएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले बताइन्।

अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याबलगायत सेवासुविधा पाउने बताइएको छ। त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा कैलाश विश्कर्माले जानकारी दिए। अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उनले बताए।

अस्पताल निर्माणले कोरोना भाइरस संक्रमितको उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भने, ‘अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहुँदा कोभिड-१९ का बिरामीको उपचारमा समस्या देखिएको थियो, आवश्यक उपकरण र अक्सिजन सेवासहित अस्पताल निर्माण भएपछि अब हामीलाई व्यवस्थापनमा सहजता आउनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell