PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओली-प्रचण्डले सकेनन् अब नेतृत्व छोड्नुपर्छ : हरिबोल गजुरेल [अन्तर्वार्ता]



कुञ्जरमणि भट्टराई

ओली-प्रचण्डले सकेनन् अब नेतृत्व छोड्नुपर्छ : हरिबोल गजुरेल [अन्तर्वार्ता]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यतिबेला उत्कर्षमा छ। पार्टी विवादमा युद्ध विराम भएको दुई महिना नबित्दै शक्ति संघर्षले पार्टी फेरि फुटको संघारमा पुगेको नेताहरू बताउन थालेका छन्। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटघाट लगायतका विवाद चरम रूप लियो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अझमदारीले नेता कार्यकर्तामा पार्टी विभाजन हुन लागेको हो भन्दै चासो र चिन्ता बढेको देखिन्छ।

सामाजिक सञ्जालमा पनि एक-अर्को पक्ष आरोप प्रत्यारोप र बचाउमा लागिपरेका छन्। नेताहरू पार्टी एकता संकटको मोडमा पुगेको भन्दै बचाउन नेतृत्वलाई आग्रह गर्दै आएका छन्। यिनै परिवेशमा रहेर हामीले नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलसँग केही जिज्ञासा राखेका छौँ।

+++++

भदौ २६ गते पार्टी विवादको युद्ध विराम भएको भनिएको थियो। केही समय पनि टिक्न सकेन नि?

दुई नेता (ओली-प्रचण्ड) ले पार्टी एकता गर्नुभयो। एकताका लागि तल्ला कमिटीमा सल्लाह गर्नुपर्थ्यो। तर, सल्लाह नगरी उहाँहरुबीचको सहमतिले पार्टी एकता भयो। त्यसलाई नेपाली जनताको चाहना अनुसार एकता भएको भन्दै सबैले स्वीकार गरे। तर, अहिले पार्टीको लिडरसिपको क्षमतामा नै प्रश्न उठ्न थालेको छ। जनता, कार्यकर्ताले नेतृत्व माथि प्रश्न उठाइरहेका छन्। मुख्य कुरा लिडरसिपको दक्षता, क्षमतामा ह्रास आउँदै गयो। अहिले जनता कार्यकर्ताको चाहना फुट त होइन। तर,पार्टी फुटतर्फ गइरहेको छ।

पार्टी विभाजनकै अवस्था आइसकेको हो?

पार्टी फुटाउन त्यति सहज त छैन। तर पनि एकताबद्ध भएर अघि बढ्न नेताहरूको भूमिका पुगिरहेको छैन। उहाँहरू हाम्रो सल्लाह नि मान्नुहुन्न। दुबै अध्यक्षलाई सुझाव दिएका छौँ। ती सुझावहरूलाई गम्भीरतापूर्वक लिनुभएको देखिँदैन। सुझाव ठिक हो पनि भन्नुहुन्छ तर कार्यशैली पुरानै छ। यी कुराहरूले गर्दा अहिलेको अवस्थामा आइपुगेका हौँ।

पार्टीलाई यो अवस्थामा ल्याउन मद्दत गरेका ती कुरा के हुन्?

पहिलो त हामीले नयाँ संविधान, पार्टी नयाँ बनायौँ। तर, कार्यशैली, आचरण पुरानै छ। नयाँ पार्टीलाई नयाँ विधि, नेतृत्व, कार्यशैली, आचरणको आवश्यकता थियो। उहाँहरूले नयाँ आचरण कार्यशैलीलाई नयाँ पार्टी अनुसारको बनाउन सक्नुभएन। प्रविधिमा नयाँ-नयाँ विकास भइरहेको छ भने पार्टीमा पनि विधिको पनि विकास हुनसक्नुपर्‍यो। ठूलो पार्टीलाई कसरी विधिमा लाने भन्ने कुरामा ध्यान पुग्न सकेन।

अर्को कुरा प्रधानमन्त्री ओलीले पूर्व एमाले र प्रचण्डले तत्कालीन माओवादीको अध्यक्ष रहँदा पार्टी जसरी चलाइरहनु भएको थियो, उहाँहरूले अहिले पनि त्यही तरिकाबाट पार्टी चलाउन खोज्नुभयो। नयाँ पार्टी त पुरानो तरिकाले चल्न सक्दैन।

जस्तो, गाडीमा नयाँ सिस्टम अपग्रेड भएपछि कि ड्राइभर नयाँ सिस्टममा जानुपर्‍यो वा सिस्टम जानेको ड्राइभर बन्नुपर्‍यो। तर, चलाइरहेको हो भन्दै पुरानैलाई दिएपछि सिस्टम पनि ध्वस्त हुन्छ गाडी पनि दुर्घटनामा पर्न सक्छ।

दुई अध्यक्षबीच फेरि संवादहीनताको अवस्था बनेको छ। बैठकको माग पनि भइरहेको छ। उता, बैठकले गरेका निर्णय पनि कार्यान्वयन हुँदैनन् नि?

दुई अध्यक्षले बैठककै बीचमा १३-१४ दिन छलफल गर्नुभयो। खै त्यहाँ के गर्नुभयो। अहिले बढी बहसको आवश्यकता छैन। आवश्यकता पार्टीलाई कसरी मिलाएर महाधिवेशनसम्म कसरी पुर्‍याउने, पाँच वर्षसम्म सरकार कसरी चलाउने भन्ने मुख्य मुद्दा हो।

मैले प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार चलाउने उपाय खोज्न सुझाव दिएको थिएँ। उता, पार्टीले दिएको कार्यकारी भूमिका अनुसार महाधिवेशनसम्म पार्टीलाई कसरी पुर्‍याउने भनेर प्रचण्डले भूमिका खेल्नुपर्‍यो। तपाईँहरू पार्टी नफुटाई भूमिका खेल्नुस् न अनि पो सफलता हुन्छ भनेर सुझाव दिएका छौँ। उहाँहरू दुई क्षेत्रमा हुनुहुन्छ तर दुबै जनाले भूमिका निभाउन सकिरहनुभएको छैन।

उहाँहरू स्वार्थ समूहको भेलामा हुनुहुन्छ। मन्त्री चाहिने, राजदूत चाहिनेहरूका कुरामात्रै सुनिरहनुभएको छ। जनताप्रति जिम्मेवार व्यक्तिभन्दा पनि गलत मान्छेहरूलाई लिएर अघि बढिरहनु भएको छ।

पार्टी विवाद समाधान गर्न के गर्नुपर्छ त?

पार्टी सञ्चालनमा अध्यक्ष प्रचण्डले ओलीजीको र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले प्रचण्डजीको सल्लाह लिनुपर्छ। पार्टी सञ्चालनमा मुख्य भूमिका प्रचण्डको र सरकार सञ्चालन ओलीले गर्नुपर्छ। दुई अध्यक्ष विश्वासमा जानुपर्ने देखिन्छ। एकले अर्काको काममा हस्तक्षेप नगर्ने वातावरण बन्नुपर्छ।

उहाँहरू घण्टौँ बैठक बस्नुहुन्छ। तर के गर्नुहुन्छ? त्यही पुरानै कुरा दोहोर्‍याइरहनुहुन्छ। घण्टौँ बहस गर्दा नयाँ कुरा पत्ता लगाउनुपर्‍यो नि त। बादे-बादे जायते तत्वबोध भनेझैँ छलफलले नयाँ निष्कर्ष निकाल्नुपर्‍यो अनि पो हल हुन्छ।

हामीले नयाँ कुरा उठाउँदा ध्यान दिनुहुन्न। मैले पार्टीमा मूल्याङ्कन समिति बनाउने, हरेक नेता कार्यकर्तालाई उत्पादनसँग नेता कार्यकर्ता जोड्ने, चुनाव खर्च पार्टीले बेहोर्ने कुरा उठाउँदै आइरहेको छु। म यी कुरा उठाइरहेकाले यी पूरा नभएसम्म हुँदैन भनेर सभामुख त्यागेर बसेको हुँ। तर ती कुराहरूमा अघि बढ्न डराइरहनु भएको छ। पहिले उहाँहरू आफैँ सच्चिनुपर्‍यो। अहिले आवश्यकता एउटा छ व्यवहार अर्को-अर्को। उहाँहरू अनुशासनमा बस्न चाहनुहुन्न र नीति, विधिबाट पनि चलेको देखिँदैन।

बेला-बेलामा नेतृत्व फेरिनुपर्ने बहस पनि हुने गरेको छ। नेकपा नेतृत्व सच्चिने कि फेरिने?

नसकेपछि नेतृत्व अब छोड्दिनुपर्छ। हामी सक्दैनौँ भन्न सक्नुपर्‍यो। पार्टीलाई ३ महिनामा एकताबद्ध बनाउने भनेको दुई वर्ष भइसक्यो। एकले अर्कालाई दोष दिएर बस्नुभएको छ। जनताले दुबै नेताहरूलाई राम्रो मानेका छैनन्। जनता कार्यकर्ताको नजरमा राम्रो काम गरेको देखाउन सक्नुभएन। दुबै नेताको साख गुम्दै गइरहेको छ। आचरण र तौर तरिकाबाट उहाँहरूले जिम्मेवारी दिएका मान्छे नै उहाँहरूको आलोचना गर्दै हिँडेका छन्। यी कुरा दुई अध्यक्षले बुझ्नुपर्छ।

पछिल्लो पटक प्रचण्डलाई आफ्नै नेताहरूले साथ छोडेको आरोप लाग्ने गरेको छ। यहाँलाई पनि प्रधानमन्त्रीलाई साथ दिएको आरोप लाग्यो नि?

पार्टी फुटाउने कुरामा कसरी साथ दिने त? प्रचण्डलाई अस्ति पार्टी नफुटाउनुस् कहाँ-कहाँ सही गर्नुपर्छ तयार छु भनिसकेको छु। पार्टी फुटाउने कुरामा साथ दिँदैनौँ। पार्टी दुर्घटना हुँदा परिवर्तन सकिन्छ अनि कसरी मान्न सकिन्छ त?

जनता, राष्ट्रलाई क्षति हुने कुरामा कसरी साथ दिने? उहाँलाई हामीले राम्रो काम गर्दा साथ दिएकै हो। हामी उहाँहरूको पक्षमा उभिरहेका थियौँ। हामीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेकै छौँ। हामीलाई दिएको जिम्मेवारी पूरा गरेकै छौँ।

यो बीचमा म मन्त्रीका लागि प्रधानमन्त्रीसँग भेट्न गएको चर्चा चल्यो। पार्टी बचाउन गएको हुँ। पार्टी बचाउने पक्षमा जो देखिनुहुन्छ उहाँलाई साथ दिइन्छ। सरकार पाँच वर्ष चल्नुपर्‍यो। पार्टी महाधिवेशनसम्म जानुपर्‍यो।

हामीले त पार्टी फुटबाट रोकेका हौँ। पहिले ओलीले अध्यादेश ल्याएर पार्टी फुटतर्फ लैजानुभएको थियो।

पछि प्रचण्डले ओलीलाई दुबै पदबाट हटाएर कारबाही गरेको भए पार्टी फुट्ने अवस्था थियो। सहमतिबाट महाधिवेशनमा जाने भन्ने छ। हामी अल्पमत र बहुमतको समीकरणमा लाग्यौँ भने पार्टी विभाजन हुन्छ। उहाँहरू मान्छे तानातानमा नै लाग्नुभयो।

बामदेवजीलाई तानेर थङथिलो बनाइसक्नुभयो। कहिले ओली र कहिले प्रचण्डले तानिरहनुभएको छ। चुनाव हारेको व्यक्तिलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भनेर सहमति हुने यो भन्दा लाजमर्दो कुरा के हुन्छ? उता, सचिवालयमा आफ्नो पक्षमा बहुमत हुँदा नेताहरू सचिवालय बैठक बोलाउने पक्षमा देखिनुहुन्छ। समीकरण बनाउने र भत्काउने खेलमा हुनुहुन्छ।

पहिले ओलीजी सचिवालय बसौँ भन्नुहुन्थ्यो अहिले प्रचण्डजीले भन्दा प्रधानमन्त्री मानिरहनु भएको छैन। जनताको समस्या र कोरोनाको संकटमा ध्यान दिन नेतृत्वले सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell