इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा मुम्बइ इण्डियन्सलाई हराउँदै सनराइजर्स हैदराबादले प्लेअफमा स्थानमा सुरक्षित गरेको छ।
शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा हैदराबादले मुम्बइमाथि १० विकेटको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
मुम्बइका लागि किइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै इसान किसनले ३३ रन र क्विन्टन डी ककले २५ रन बनाए।
मुम्बइलाई सामान्य स्कोरमा समेट्न हैदराबादका लागि सन्दीप शर्माले ३ विकेट लिँदा शाहबज नदीम र जेसन होल्डरले समान २/२ विकेट तथा राशिद खानले एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १७.१ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य पुरा गर्यो।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक अभिजित ८५ रन बनाउँदा ऋद्धिमान साह ५८ रनमा अभिजित रहे।
जितसँगै हैदराबादले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ मुम्बइ यसअघि नै शीर्षस्थानमा रहँदै क्वालिफार्समा स्थान सुरक्षित गरिसकेको छ। उता रनरेटको समीकरण पर्खिएर बसेको कोलकता नाइटराइडर्स प्लेअफको होडबाटट बाहिरिएको छ।
