युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस महारथी रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोलीले इन्टरमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो।
रोमाञ्चक खेलमा रियलले खेलको २५ औं मिनेटमा करिम बेञ्जेमाको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै ३३ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर बनाए। उता इन्टरका लागि लौटरो मार्टिनेजले ३५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा रियल २-१ ले अघि रह्यो।
दोस्रो हाफमा इन्टरले खेल बराबरीमा ल्यायो। खेलको ६८ औं मिनेटमा मार्टिनेजको पासमा इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। थप प्रतिस्पर्धात्मक बन्दै गएको खेलमा ८० औं मिनेटमा रोड्रिगोले लागि गोल थपे। जुन रियलको जितका लागि निर्णायक बन्न पुग्यो।
त्यस्तै गएराति नै भएको समूह ‘बी’ कै अर्को खेलमा जर्मन क्लब मुन्छेनग्लाडबाखले सख्तर डोनेटस्कमाथि आधादर्जन गोलको फराकिलो जित निकाल्दै समूहको शीर्षस्थान सुरक्षित गर्यो।
ग्लाडबाखको जितमा एलास्साने प्लिले सर्वाधिक ३ गोल गर्दा रमी बेन्सेबैनी र लार्स स्टिनडिलले समान १/१ गोल गरे। एकगोल भने सख्तरका वालेरी बोन्डरले आत्मघाती गरेका थिए।
जितसँगै ५ अंक जोडेको ग्लाडबाख तालिकाको शीर्षस्थानमा छ भने ४ अंक जोडेको सख्तर दोस्रो, तीन अंकसहित रियल तेस्रो र २ अंकसहित इन्टर तालिकाको पुछारमा छन्।
