युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब एटलान्टामाथि फराकिलो जित जित निकालेको छ। एटलेटी अज्युरी डी इटालिया स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा डिएगो जोटाले ह्याट्रिक पुरा गर्दा मोहम्मद सलाह र साडियो मानेलेल १/१ गोल गरे।
खेलको १६ औं मिनेटमा नै लिभरपुलले खेलमा अग्रता बनाएको थियो। ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। उनले नै ३३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पनि बनाए। पहिलो हाफमा लिभरपुल २ गोलले अघि रह्यो।
दोस्रो हाफको सुरुमै सलाहले गोल थपे। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए। त्यसको तीन मिनेटभित्रै सलाहकै पासमा मानेले अर्को गोल थपे। खेलको ५४ औं मिनेटमा जोटाले फेरि अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गर्दा लिभरपुलले घरेलु टोलीमाथि ५-० को रवाफिलो जित निकाल्न सफल भयो।
त्यस्तै गएराति नै भएको समूह 'डी' कै अर्को खेलमा अजाक्सले घरेलु टोली मिजुल्याण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्यो। आजाक्सका लागि एन्टोनी र डुसन टाडिकले गोल गरेका थिए भने घरेलु टोलीका लागि एन्ड्रेस ड्रेयेरले गोल गरेका थिए।
समूहमा ९ अंकसहित लिभरपुल शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका अजाक्स र एटलान्टा क्रमश दोस्रो र तेस्रो स्थानमा छ। त्यस्तै जितबिहीन मिजुजिल्याण्ड समूहको पुछारमा छ।
