युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ए को खेलमा जर्मन महारथी बायर्न म्युनिखले अस्ट्रियन क्लब रेड बुल साल्जबर्गमाथि सानदार जित निकालेको छ।
रेडबुल एरेना साल्जबर्गमा भएको खेलमा बायर्नले घरेलु टोलीमाथि ६-२ को फराकिलो जित निकालेको हो।
खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको चौथो मिनेटमै मेर्गिम बेरिसाले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए। तर २१ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औं मिनेटमा साल्जबर्गका रासमुस क्रिस्टेनसेनले आत्मघाती गोल गर्दा पहिलो हाफमा बायर्न २-१ अघि रह्यो।
दोस्रो हाफको सुरुमा साल्जबर्गले खेल बराबरीमा ल्याएको थियो। खेलको ६६ औं मिनेटमा मासया ओकुगावाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन प्रयास गरेका थिए। तर त्यसपछि बायर्नले आक्रामक प्रदर्शन गर्यो। खेलको ७९ मिनेटमा जेरोमी बोएटेङ, ८३ मिनेटमा लेरोए साने, ८८ औं मिनेटमा लेवान्डोस्की र अतिरिक्त समयमा लुकास हरमेन्डेजले गोल गर्दा बायर्नले फराकिलो जित निकाल्न सफल भयो। समूहमा बायर्नको यो लगातार तेस्रो जित हो।
समूह ‘ए’ कै गएराति नै भएको अर्को खेलमा एट्लेटिक मड्रिड र लोकोमोटिभ मस्को बराबरीमा रोकिए। लोकोमोटिभ स्टेडियममा भएको खेलमा दुबै टोलीले पहिलो हाफमा १-१ गोल गर्दै बराबरीमा रोकिए। खेलमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो। खेलको १८ औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। उता घरेलु टोलीका लागि एन्टोन मिरानचुकले २५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
समूह ए मा बायर्न ९ अंकसहित शीर्षस्थानमा छ भने समान ४ अंकसहित एट्लेटिको मड्रिड दोस्रो र लोकोमोटिभ तेस्रो स्थानमा छ। जितबिहीन साल्जबर्ग तालिकाको पुछारमा छ।
