PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सास फेर्नको सकस : अक्सिजन सिलिन्डर होल्ड गर्दा आवश्यकलाई पुर्‍याउनै कठिन



सरला सुवेदी

सास फेर्नको सकस : अक्सिजन सिलिन्डर होल्ड गर्दा आवश्यकलाई पुर्‍याउनै कठिन

काठमाडौं : बढ्दो संक्रमणले सर्तकताका लागि सर्वसाधारणले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर आवश्यकभन्दा धेरै स्टक राख्दा बजारमा त्यसको अभाव हुन थालेको छ। कोरोना संक्रमणले अवस्था गम्भीर हुन थालेकाको शरीरमा अक्सिजनको मात्रा घट्छ, त्यस्तो बेला अतिरिक्त अक्सिजन दिनुपर्छ।

पछिल्लो समय कोभिड संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेपछि अक्सिजन स्टक राख्नेक्रम बढेको छ। साथै स्वासप्रस्वासमा समस्या बढ्नेको संख्या अत्याधिक हुँदा खपत पनि बढ्न थालेको छ। उद्योगहरूले साइज अनुसारका सिलिण्डर बजारमा पठाउँछन्। १० लिटर, २० र ४७ लिटरका सिलिण्डर सर्वसाधारणले धरौटी राखेर घरमै प्रयोग गर्न पाउँछन्।

यीमध्ये सबैभन्दा धेरै प्रयोग हुने १० लिटर क्षमताको हो। स्वास्थ्यमा संकट आइहालेमा प्रयोग गर्नुपर्ने भन्दै होल्ड गर्नेहरु बढेका छन्। अस्पतालहरूले पनि १० लिटरकै सिलिण्डर बढी चलाउने गरेका छन्। 'होम आइसोलेसन र अस्पतालहरुमा सिलिण्डर स्टक राख्न थालेपछि खाली सिलिण्डरको अभाव हुन थालेको छ,' शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने।

यतिबेला कोभिड अस्पताल र होम आइसोलेसनमा अक्सिजनको माग बढ्न थालेको छ। उद्योगको क्षमता १२ सयदेखि १५ सय सिलिण्डर भए पनि हाल ७ सय सिलिण्डर उत्पादन र खपत हुने गरेको छ। 'अक्सिजनको अभाव छैन तर भरेर पठाउनका लागि खाली सिलिण्डर पर्याप्त मात्रामा फर्केर नआउने समस्या भएको छ,' उनले भने।

अस्पतालमा संक्रमितको संङ्ख्या बढ्न थालेपछि पहिलेभन्दा दोब्बर सिलिण्डर राख्न थालेका छन्। यसले गर्दा सिलिण्डर फिर्ता हुन समय लाग्छ। समयमै सिलिण्डर आए बजारमा ग्यासको अभाव नहुने उनको भनाइ छ।

अक्सिजनको पहिलेभन्दा १० देखि १५ प्रतिशत माग बढेको छ। एकै व्यक्तिले ३ वटाभन्दा बढी सिलिण्डर स्टक राख्न थालेका छन्। कोभिड लामो समयसम्म जाने अनुमान गरेर थप सिलिण्डर मगाउन लागिएको उनले जानकारी दिए। अक्सिजनका बन्द हुन लागेको उद्योगलाई कोभिडले पुनः संचालनमा ल्याए पनि पर्याप्त सिलिण्डर नहुँदा व्यवस्थापकीय कठिनाई बेहोर्नुपरेको छ।

पछिल्लो समय अक्सिजनको खपत पहिले भन्दा दोब्वर हुन थालेको कान्तिपुर अक्सिजन प्रालिका बजार प्रबन्धक कुमार चुडालले बताए।

'यतिबेला कोभिड अस्पतालमा अक्सिजनको माग बढी भइरहेको छ। अन्य अस्पतालमा पहिलेको अनुपातमा १० प्रतिशतमात्र खपत भइरहेको छ,' उनले भने, '१० लिटरको सिलिण्डरको माग बढी छ।'

धरौटीमा लगेर समयमा सिलिन्डर फिर्ता नगर्दा रिफिलिङमा समस्या भएको हो। होम आइसोलेसनमा २० लिटर र ४७ लिटरको सिलिण्डर ढुवानी गर्न समस्या हुने भएकाले सर्वसाधारणले १० लिटरको बढी प्रयोग गर्ने गरेका छन्। उद्योगले तोकिएको समय भन्दा बढी राख्दा जरिवाना लिने भए पनि सिलिण्डर फिर्ता भएको छैन।

'खाली सिलिण्डर ल्याउने लाने गरिरहनुपर्ने हुन्छ। डम्प गरेर राख्दा केही दिनमा १० लिटरको सिलिण्डर सर्टेज हुन्छ,' उनले भने। कान्तिपुर अक्सिजन प्रालिले मंसिरमा थप केही सिलिण्डर मगाउन लागेको जनाएको छ।

कोभिडपछि अक्सिजनको माग दोब्बर भइरहेको सगरमाथा अक्सिजन नेपाल प्रालिका बजार प्रबन्धक रितेश महर्जनले बताए।

'पहिले दैनिक ४ सयदेखि ५ सय सिलिण्डर खपत हुनेमा अहिले दैनिक ८ सय देखि एक हजार सिलिण्डर खपत हुँदैछ,' उनले भने, 'सिलिण्डर डम्प भएकाले बजारमा अभाव देखिएको छ। पहिलेकै अवस्थामा उत्पादन र खपत भइरहेको छ।'

उद्योगहरुको १५ सय सिलिण्डर उत्पादन क्षमता भए पनि ८ सय सिलिण्डर अक्सिजन उत्पादन गरिरहेका छन्।

उपत्यकामा अक्सिजनका ११ वटा उद्योग छन्। यतिबेला ८ वटा संचालनमा छन्। राजधानीमा ६ भन्दा बढी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ। तीमध्ये केहीको प्लान्ट बिग्रिएकाले उनीहरुले पनि अक्सिजन किनेरै व्यवस्थापन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell