PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशैंमा दशा : सात वर्षको तथ्याङ्कले देखाउँछ दुर्घटनाको यस्तो दृष्य



सविन ढकाल

दशैंमा दशा : सात वर्षको तथ्याङ्कले देखाउँछ दुर्घटनाको यस्तो दृष्य

काठमाडौं : कार्तिक १५ गते बिहानै भक्तपुर सूर्य विनायक नगरपालिकाका ५० वर्षीय राम सुवाल खेत जोत्न हाते ट्याक्टर लिएर निस्किए। पर्वको रमझम सकिसकेकाले दशैं मनाउन घर गएकाहरू पनि काममा फर्किन थालिसकेका थिए।

सूर्य विनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्न हिँडेका थिए उनी। तर, एक्कासी ट्याक्टर अयन्त्रित भयो। सडकबाट भिरालोतिर  ट्याक्टर झर्‍यो। राम पनि त्यही ट्याक्टरसँगै झरे। ट्याक्टरको फालीले उनको शरीरमा चोट पुर्‍यायो। तत्काल नै उनलाई भक्तपुरस्थित मध्यपुर अस्पताल पुर्‍याइयो। तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। 

दशैंको टीकाको साँझ बुढानीलकण्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरी स्कुटर लिएर निस्किए। काठमाडौंको महाजगञ्जमा उनले चलाएको प्रदेश ३–०२ ०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलसँग ठोकिन पुग्यो। उनलाई पनि तत्कालै त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पुर्‍याइयो। उनलाई पनि चिकित्सकले बचाउन सकेनन्।

+++

दशैंमा हुने सडक दुर्घटना कम गर्न प्रत्येक वर्ष महानगरीय ट्राफिक प्रहरीले विशेष अभियान नै सञ्चालन गर्दै आएको छ। तर पछिल्लो तीन वर्षको तुलना गर्दा दशैंमा सडक दुर्घटना भने लगातार बढिरहेको देखिन्छ। सबैभन्दा धेरै चाहिँ चालकको लापरबाहीले दुर्घटना हुने गरेको प्रहरीको निष्कर्ष छ।

'हाम्रो तर्फबाट गर्ने काम गरिरहेका हुन्छौ। पहिलेजस्तो दुर्घटना भएको छैन। कमी त आएको नै देखिन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

यस वर्षको दशैंको अवधि अर्थात् कार्तिक १ गतेदेखि १५ गतेसम्म काठमाडौं उपत्यकाभित्र ३ सय ८० वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा १३ जनाले अकालमा नै ज्यान गुमाए। १३ जना गम्भीर घाइते भएर उपचार गराइरहेका छन्। त्यस्तै ३ सय ४४ जना दुर्घटनामा परी साधारण घाइते भए।

गत वर्षको दसैँ २०७६ (असोज १२ देखि असोज २६) गतेसम्मको तुलना गरेर हेर्दा यस पटक सडक दुर्घटनामा केही कमी आएको देखिन्छ। तर दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या भने बढी नै छ। २०७६ सालको दशैंमा काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरू (काठमाडौं, भक्तपुर र ललितपुर) मा ४ सय ३४ वटा सडक दुर्घटना भएका थिए। दुर्घटनामा परि १० जनाले ज्यान गुमाएका थिए। १४ जना गम्भीर घाइते हुँदा ३ सय ४ जना साधारण घाइते भए।

अघिल्ला दशैंहरुमा उपत्यकाको सडक दुर्घटना यस्तो

सडकमा सवारीको सङ्ख्या थपिएसँगै दुर्घटनाको दर पनि बढ्ने गरेको छ। सात वर्षअघि २०७० सालको दशैंमा काठमाडौं उपत्यकाभित्रको दुर्घटना हेर्ने हो भने १ सय ३७ वटा मात्र देखिन्छ। दुर्घटनामा परी ७० सालमा ७ जनाले ज्यान गुमाएका थिए। त्यतिखेर ११ जना गम्भीर घाइते र १ सय २३ जना साधारण घाइते भएको देखिन्छ।

दशैंको समयमा घर फर्किनेको सङख्या बढी हुँदा काठमाडौं उपत्यकाका सडक खाली झैँ देखिन्छ। तर, खाली सडकमा तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना हुने गरेको पाइन्छ। त्यसैले दशैंको समयमा ट्राफिक प्रहरीले सडकमा चेकिङ कडा बनाउने गरेका हुन्।

'दशैं तथा चाडपर्वको समयमा सबैभन्दा धेरै चुनौती तीव्र गति र मापसे नै हो। त्यसैले हामीले यस्तो समयमा सडकमा ट्राफिकको उपस्थिति अझ बाक्लो पार्ने गरेका छौँ,' एसएसपी ढकालले भने।

२०७१ सालको दशैं असोज ९ गतेदेखि २१ गतेसम्म १ सय ३० वटा दुर्घटना भए। सात वर्षको तुलना गर्दा त्यतिखेरको दशैंमा सबैभन्दा कम दुर्घटनामा ज्यान गुमाएको देखिन्छ। त्यतिखेर ४ जनाले ज्यान गुमाएका थिए। ३ जना गम्भीर घाइते र १ सय ९ जना साधारण घाइते भएका थिए।

२०७२ सालको दशैं असोज २६ गतेदेखि कार्तिक १० गतेसम्म सात वर्षको तुलनामा सबैभन्दा कम सडक दुर्घटना भएको थियो। १ सय ८ वटा मात्र दुर्घटना भएको थियो त्यतिखेर। जसमा ७ जनाले ज्यान गुमाए भने ८४ जना साधारण घाइते भए। २०७३ सालको दशैंमा १० जनाको सडक दुर्घटनामा मृत्यु भयो। त्यतिखेर १५ दिनको अवधिमा काठमाडौं उपत्यकामा १ सय ४६ वटा दुर्घटना भएको थियो।

२०७४ सालको दशैंमा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ जनामा सीमित रह्यो तर दुर्घटनाको दर भने बढ्यो। १ सय ७७ वटा सवारी दुर्घटना भएको थियो त्यतिखेर। २०७५ सालको दशैंमा २ सय ८५ वटा सवारी दुर्घटनामा परी १३ जनाले अकालमा ज्यान गुमाउनु परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell