PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

भारतीय सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिँदा सुरक्षा कडा, पुण्य गौतमलाई हिजैदेखि हिरासत



पहिलोपोस्ट

भारतीय सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिँदा सुरक्षा कडा, पुण्य गौतमलाई हिजैदेखि हिरासत

काठमाडौं : आज मध्यान्हमा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे त्रिभुवन विमानस्थलमा ओर्लिँदैछन्। पत्नीसहित काठमाडौं आउन लागेका सेनाध्यक्ष नरावणे त्यसपछि सिधैं सोल्टी होटेल पुग्नेछन्। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ।

सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल र भारत सीमा विवादको विषयमा सेनाध्यक्ष नरावणेले केही समयअघि दिएको अभिव्यक्तिले उनी नेपालमा आलोचित छन्। त्यही विषय उठाएर उनको विरोध पनि भएको छ। त्यसैले उनको भ्रमणमा समेत विरोध हुनसक्ने देखेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

बिरोध हुनसक्ने सम्भावित स्थान र व्यक्ति प्रहरीको निगरानीमा रहेका छन्। केही मानिसलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जानकारी दिएको छ। युट्युबरको बीचमा चर्चित पुण्य गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले कालो झण्डा देखाएर विरोध गर्ने अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

कार्यक्रम तालिका

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप नरावणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीवार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट समेत गर्नेछन्।

नेपाली सेनाले स्थल सेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।

नेपाल आउनुअघि एक विज्ञप्ति जारी गर्दै नरावणेले नेपाल आउन लाग्दा खुशी महसुस भएको भन्दै आफ्नो भ्रमणबाट दुई देशबीचको मित्रता अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।

स्थलसेनाध्यक्ष नरावणेले बिहीवार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम समेत रहेको छ। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्नेछन्। सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।

दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। नरावणेको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्ने तय भएको छ। जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell