PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थप ३३०९ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु, थपिएका संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकाका



पहिलोपोस्ट

थप ३३०९ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु, थपिएका संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकाका

काठमाडौं :  तीन दिनमा ९ हजार ३५६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो तीनमा कुल ३७ हजार ७५६ जनाको परीक्षण भएको छ।

यो तथ्यांक हेर्दा  प्रति ४ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। यही तीन दिनमा संक्रमण मुक्त हुनेको संख्या ९ हजार ९१२ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा तीन हजार ३०९ जनामा कोभिड-१९ का संक्रमित पहिचान भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

यो अवधिमा १३ हजार १४४ जनाको नमुना परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये २५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ८४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको छ। हाल नेपालमा ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

जसमध्ये ६ हजार ७८० जना अस्पताल तथ संस्थागत आइसोलेसनमा छन् भने ३० हजार १३१ जना होम आइसोलेसनमा रहेका छन्।

उपत्यकामा थपिए १८७८

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ जना संक्रमित पहिचान भएका छन्। जुन पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका कुल संक्रमितको ५६.७५ प्रतिशत हो।

जसमध्ये काठमाडौं जिल्लामा मात्र एक हजार ५७० जना संक्रमित पहिचान भएका छन्। त्यस्तै भक्तपुरम ११९ र ललितपुरमा १८९ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell