काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोभिड- १९प्रयोगशाला सञ्चालन गर्ने अस्पताल र मेडिकल कलेजहरुले रिपोर्ट पोजेटिभ भएका संक्रमितहरुलाई परामर्श गर्न भनेको छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई प्रयोगशाला सञ्चालन गर्ने अस्पताल तथा मेडिकल कलेजहरुले टेली कन्सल्टेसन र टेली काउन्सिलिङ गर्नुपर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै बैठकले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड-१९ अस्पताल बनाउने स्वीकृती दिएको छ।
गौतमले होम आइशोलेसनमा बसेकाहरुले चिकित्सकको परामर्श बिना औषधी प्रयोग गरेको जानकारी आएको भन्दै सल्लाह नगरी औषधी सेवन नगर्न आग्रह पनि गरे।
उनले आइसोलनमा बस्दा नआत्तिन आग्रह गर्दै मन भुलाउन पत्रिका पढ्ने,टिभी हेर्ने , अनलाइनबाट मिल्ने कार्यालयको काम गर्न सुझाव पनि दिएका छन्।
