पाँचथर : पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्याक्ट ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो।
फिदिमका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। जसमा तीन जना बन्दीसमेत रहेका छन्।
बुधवार आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो। अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन्।
पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन्। पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २४ पुगेको छ। मंगलवार मात्रै मिक्लाजुङका एक जनामा संक्रमण देखिएको थियो। जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा संक्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा संक्रमित थपिएका हुन्।