PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिबन्धित पटकासहित ईटहरीबाट ३ जना पक्राउ



फूलमाया पुरी

प्रतिबन्धित पटकासहित ईटहरीबाट ३ जना पक्राउ

विराटनगर : सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटका बरामद गरिएको छ। प्रतिबन्धित पटकासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मिया रहेका छन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मियाको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार-पसार तथा बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बुधवार दिउँसो पक्राउ गरेको हो।

पटकासहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसैगरी, झापाको अर्जुनधारा र नकलबन्दा क्षेत्रबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो।

बरामद भएको पटका आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell