PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली र माधव मिलाउन मियो बन्न सक्लान् प्रदीप नेपाल?



कुञ्जरमणि भट्टराई

ओली र माधव मिलाउन मियो बन्न सक्लान् प्रदीप नेपाल?

काठमाडौँ: पार्टी विवाद बढ्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले गुटको समीकरण भत्काउन प्रयास जारी छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद जारी रहँदा निर्णायक मानिएका वरिष्ठ नेता माधवकुमार नेपाल मौन छन्। नेपाल दुबै पक्षको चेपुवामा छन्।

पछिल्लो समय विवादमा अध्यक्ष प्रचण्डलाई साथ दिइरहेका नेपाल हालको विवादमा मौन छन्। नेपाललाई फकाउन यतिबेला ओली समूह सक्रिय छ। नेपाललाई फकाउन प्रधानमन्त्री ओली समूहले विभिन्न विकल्प खोजिरहेको छ।

विवादको निर्णायक भूमिकामा रहेका वरिष्ठ नेता नेपाललाई फकाउने रणनीतिमा छन् ओली। त्यसको समन्वयकारी भूमिकाका निम्ति ओलीले पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता प्रदीप नेपाललाई अहिले सम्झिएका छन्।

पछिल्लो समय राजनीतिमा सक्रिय नरहे पनि नेपालले एमालेको तत्कालीन महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका थिए। सक्रिय भूमिकामा नरहे पनि नेपालमार्फत वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा ओली छन्।

विवादको समन्वयकारी भूमिका निर्वाह गर्नका लागि यतिबेला राजनीतिमा निष्क्रिय रहेका उनलाई सक्रिय बनाउन लागेका छन्।

गत शनिबार ओलीको तर्फबाट सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदीप नेपालको निवासमा पुगे।

उनीहरूले पार्टी एकताको रक्षाका लागि माधव नेपाललाई सम्झाउन आग्रह गरेका थिए। अभिभावकको हैसियतले ओली र नेपाललाई मिलाइदिन सल्लाहकारहरूले आग्रह गरेको नेपालले स्वीकार गरिसकेका छन्।

पछिल्ला राजनीतिक घटनाक्रममा नेपालले प्रचण्डलाई साथ दिँदै आएका छन्। अर्का अध्यक्ष प्रचण्डलाई न्यारो डाउन गर्न नेपाल फकाउने रणनीति अन्तर्गत ओलीको प्रयास भएको चर्चा नेकपा वृत्तमा छ। त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि नेताहरुसँग नेपाललाई 'ओली कोर्ट'मा ल्याउने रणनीति बनाउन गोप्य छलफल गरेको बताइन्छ।

'महाधिवेशनपछिको अध्यक्षमा लिखित सहमति गर्नुपर्छ'

सोमबार वरिष्ठ नेता नेपाल प्रदीप नेपालको निवासमा पुगे। भेटमा वरिष्ठ नेता नेपालले ओली पार्टीको विधि, पद्धतिमा नचलेकाले सहकार्य हुन नसकेको बताएका थिए।

सो क्रममा वरिष्ठ नेता नेपालले एकता रक्षाका लागि ओलीले निर्णय मान्नुपर्ने र बैठकमा आउनुपर्ने बताएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए।

'दुई नेता मिल्नुपर्‍यो भन्ने कुरा रहेछ। उहाँले विधि पद्धतिमा चल्नुपर्छ, प्रधानमन्त्री ओलीले निर्णय मान्नुपर्छ, बैठक बोलाउनुपर्छ भन्ने कुरा राख्नुभएको छ,' ज्ञवालीले भने।

ओलीसँगको पछिल्ला दुई भेटमा पनि नेपालले विधि पद्धतिमा चल्न र कार्यशैली सच्याउन सुझाव दिएका थिए।

त्यस्तै नेपालद्वयको भेटमा प्रदीपले नेता नेपालसँग ओलीले महाधिवेशनमा अध्यक्ष बनाउने प्रस्ताव राखेको होइनन् भन्दै जिज्ञासा राखेका थिए।

तर, नेपाल पक्षीय नेताहरू भने आश्वस्त हुन सकेका छैनन्। लिखित सहमतिको पक्षमा उभिन नेपाललाई सुझाइरहेका छन्।

प्रधानमन्त्री ओलीले नेपालाई आफ्नो पक्षमा ल्याउन महाधिवेशनमा अध्यक्ष बनाउने प्रस्ताव राखिसकेका छन्। तर, नेपालले विश्वस्त हुने आधार नरहेको भन्दै त्यसलाई अस्वीकार गर्दै आएका छन्। ओलीको यो प्रस्ताव यो पहिलो होइन।

प्रदीप नेपालले दुई नेता मिलाउन सक्ने आधार नभए पनि ओलीले वरिष्ठ नेतासँग मतभिन्नताबारे जानकारी लिने अस्त्र बनाएको नेपाल पक्षका नेताहरूको बुझाइ छ।

'उहाँ आफैँ पनि अस्वस्थ हुनुहुन्छ। दुई नेता मिलाउन भूमिका त के हुन सक्ला र। तर, माधव नेपालको कुरा के हो त्यो चाहिँ स्पष्ट भयो नि,' एक नेताले भने।

होला त मिलाप?

पार्टी एकतादेखि नै ओली-नेपालबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन। दुई अध्यक्षको मिलापले बेला बेलामा सशङ्कित बन्दै आएका नेपाल ओलीसँग मिलिहाल्ने अवस्थामा पनि छैनन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट दुई नेता मिल्ने सम्भावना न्यून रहेको नेता नेपाल निकट ज्ञवाली बताउँछन्।

'मिल्ने बिन्दु नै छैन नि। पछिल्लो स्थायी कमिटी बैठकले निर्णय गरिसकेको छ त्यो त उहाँले मान्नुभएन। सहमति गर्‍यो, निर्णय गर्‍यो प्रधानमन्त्री मान्नुहुन्न, ज्ञवाली भन्छन्,'जहिले पनि उहाँको दाउपेच मात्र रहन्छ। त्यसकारण मिल्न गाह्रो छ। तैपनि कुराकानी त भइरहेको छ। हेरौँ के हुन्छ।'

ओलीजस्तै प्रचण्डसँग पनि नेपाल पक्षका नेताहरू पूरै आश्वस्त भने छैनन्। अघिल्लो विवादबारे स्थायी समितिको निर्णयमा समेत नेपालको फरक मत थियो।

बन्न सक्लान् त मध्यस्थकर्ता?

स्पष्ट वक्ता प्रदीप नेपालले पूर्व एमालेमा व्यक्तिगत रूपमा राम्रै छाप बनाएका थिए। कार्यकर्तासँग धरै घुलमिल भएका नेपाललाई नेताहरूले आदर गर्ने गरेका छन्।

प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल नेपालसँग पहिल्यैदेखि परामर्श गरेको भए सहज स्थिति आउने औँल्याउँछन्।

'पार्टी एकता जोगाउन सरकार पक्षले अहिले उहाँको औचित्य देख्यो। उहाँ नेकपा मालेको संस्थापकमध्ये पनि हो। जेल तोडेर बाहिर राजनीतिमा आएको।' अर्याल भन्छन्, '३० को दशकपछि उहाँको प्रोत्साहनमा लागेकाहरु धेरै राजनीतिमा सक्रिय छन्। उहासँग सरकारले सल्लाह, सुझाव, परामर्श गरेको भए अहिले प्रधानमन्त्रीलाई सजिलो हुन्थ्यो।'

अर्याल संकटको बेलामा सम्झिएका नेपालबाट कस्तो भूमिका रहला भन्ने हेर्न बाँकी नै रहेको बताउँछन्।

अर्याल भन्छन् 'उहाँलाई क्राइसिसको बेला सम्झनु स्वाभाविक हो। यो सम्झनाले मात्रै संकट कतिको टार्छ त्यो त हेर्नैपर्छ।'

जबज जोगाउन प्रदीपको खोजी

उता, नेकपा मालेका महासचिव सिपी मैनाली भने प्रदीप नेपाललाई सेन्टिमेन्टल स्वभावका व्यक्ति भएको सम्झन्छन्। सहकार्यका दौरान नेपालमा छिट्टै आशा र निराशा छाउने गरेको आफूले अनुभव गरेको उनले सुनाए।

तत्कालीन एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) लाई गाउँगाउँमा पुर्‍याउन नेपालले भूमिका खेलेका थिए।

'उनी २०४८ सालमा नेकपा एमालेका प्रचार विभाग प्रमुख थिए। अरूले गीत मान्दा हुन्, तर, म त्यसलाई आलोचना गर्छु। मदन भण्डारी, प्रदीप नेपालले जबजको किताब लेखे, मैनाली सम्झन्छन्, 'त्यसलाई केन्द्रीय कमिटीमा नल्याइकन प्रचार विभाग प्रमुख भएकाले हजारप्रति छापे। पछि केन्द्रीय कमिटीमा अनुमोदन नभइकन प्रकाशित भएको भन्दै रोक्ने निर्णय भयो। तर, पार्टी कमिटीको निर्णय विपरीत त्यसलाई गाउँगाउँमा पुर्‍याइयो। गलत ढंगले माक्सवादविरोधी सिद्धान्त पार्टीमा थोपर्ने काममा उनको ठूलो भूमिका छ।'

त्यसै कारण अहिले पार्टी विभाजनमा पुग्ने लागेपछि प्रदीप नेपाललाई ओलीले सम्झिएको उनी बताउँछन्।

'जबजलाई मान्नेहरुमा अहिले संकट आएको छ। केपी ओलीको कार्यशैलीले गर्दा माधव नेपाल, झलनाथ खनाललगायत जबज पन्थीहरुले विरोध गरे। यसले गर्दा ओली अल्पमतमा परे। त्यसलाई सच्याउनको निम्ति प्रदीप नेपालको सहयोग खोजेका हुन्।'

आफ्नै सहकर्मीको झगडा र जबज जोगाउनका लागि उनले नेताहरूलाई भूमिका खेल्न सक्ने मैनाली बताउँछन्। तर, त्यसमा नेताहरूले आफूलाई पहिले सल्लाह नगरेको र छायामा पारेकाले उनी चिढिएको आकलन मैनालीको छ।

'उनीहरूमा जबज जोगाउन केही भूमिका खेल्लान् कि भन्ने थियो। तर, सामाजिक सञ्जालमा उनले सक्दिनँ भनेको कुरा आएको छ। उनले स्वास्थ्यको कारणले पनि सक्दिनँ भनेको हुन सक्दछ। दोस्रो कुरा अहिलेसम्म सल्लाह नलिई आफूलाई किनारामा फालेको र पार्टी फुट्ने भएपछि फाइदाका लागि जोगाउनुपर्‍यो भनेर आएकाले उनी चिढिएको पनि हुनसक्छ,' मैनालीको ठम्याइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell