PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मावल जाँदा धावक जीवनले देखेको सम्भावना : यो हुन सक्छ ट्रेल रेसको नयाँ रुट



मुकुन्द घिमिरे

मावल जाँदा धावक जीवनले देखेको सम्भावना : यो हुन सक्छ ट्रेल रेसको नयाँ रुट

-सिङ्लापास स्तुपा हुँदै गणेश हिमाल जाने पुरानो रुट हो। धेरै अघि ट्रेकिङमा हिँडेका विदेशीहरु लुटिए यही रुटमा। अनि त्यो ठाउँ ‘ब्ल्याक लिस्ट’मा परेको थियो। त्यसपछि पर्यटक जान बन्द भयो। अहिले त त्यो प्रतिबन्ध हटिसकेको छ।

-सिङला चाहिँ धादिङको झरलङ भन्ने ठाउँमा पर्छ। त्यहाँ धादिङ, रसुवा र नुवाकोटबाट जान मिल्छ। यो ठाउँ खासमा भेडी गोठ राख्ने ठाउँ हो।

-काठमाडौंबाट धेरै टाढा नभए पनि मानिसहरु यो ठाउँमा हत्तपत्त पुग्दैनन्। त्यहाँका स्थानीय भने घुम्न जान्छन्। थाहा नभएर नै नपुगेको हो। प्रमोट  नभएर पनि होला। वरपरको मानिसहरुलाई मात्र थाह छ।

अल्ट्रारेस धावकसमेत रहेका जीवन लामाले सिङ्लापास क्षेत्रबारे यही जानकारी दिए। उनले यो जानकारी दिनुको कारण हो उनी अहिले अल्ट्रारेसको रुटको लागि त्यो क्षेत्रमा सम्भावना देखिरहेका छन्। खोजिरहेका छन्।

लामाको घर नुवाकोटको दाङ्सिङमा पर्छ। तारकेश्वर गाउँपालिका। यो ठाउँमा साथीहरुसँग घुम्न जाने उनको पुरानै योजना थियो। तर मिलिरहेको थिएन।

यता कोरोना महामारी सुरु भएपछि उनी मावली गए बुङताङ। यसपटक उनले त्यो क्षेत्रमा घुम्ने मौका पाए।

‘लकडाउन बुङताङ गएको थिएँ। अनि ४/५ जना क्याम्पेन गर्न सिङला तिर गइयो। मेप्रु, छेर्मापाङ भन्ने ठाउँ छ। माथिमाथि चौर छ। अलिकति उता गएसी मेफ्रु अर्थात ओडारमा आगो बालेर बस्ने ठाउँ,’ उनले क्याम्पेनमा जाँदाको रुटबारे भने, ‘त्यो भन्दा माथि चाहीँ मर्मेन्जो आउँछ। त्यो भनेको डाँडामा गएर आगो बाल्ने। उ जमानामा धामी झाँक्रीहरुले राखेका नामहरु रे।’

‘उनीहरु जानुपर्ने थियो सिम्लामाने। त्यसैले किस्पाङको क्षेत्रमा पर्ने रुपचेतको भेडीगोठ हुँदै उनीहरुले ४ हजार मिटरभन्दा माथिको उचाइमा रहेको गन्तव्यमा पुगेर फर्किएँ।’

त्यस्तै ठाउँहरुमा दौडिरहने उनलाई एकपटक त्यहाँ पुगेर चित्त बुझेन। त्यसको २ महिनाभित्रै दोस्रोपटक पनि लागे त्यही रुटमा। तर यसपटक एक्लै।

बुङताङबाट किस्पाङ गुम्बामा गएर बसे। त्यही बेला उनको ध्येय थियो, के यो रुटमा ट्रेल बन्न सक्ला?

‘त्यतिबेला मलाई एउटा रुट बनाउनु पर्ने भन्ने सोचेको थिएँ। भोलिपल्ट दौडँदै भाल्चे हुँदै दुम्पाङ, दुम्पाङ हुँदै रुपचेत, रुपचेत हुँदै सिङला पुगेर फर्किँए। त्यतिखेर नाप्दा ४१ किमी जति भएको थियो। यो नयाँ रुट हुनसक्छ  भन्ने मलाई थियो,’ उनले सम्झे।

त्यसपछि उनी काठमाडौं आए। यहाँ आउँदा उनले टन्नै फोटो भिडियोहरु पनि ल्याएका थिए। धेरैजनालाई देखाए पनि। राम्रै कमेन्ट पाएपछि उनी थप हौसिए।

काठमाडौं फर्किएर उनले त्यो सम्भावनाबारे आशिष मिश्रलाई सुनाए। मिश्र जो ट्रेलरेस आयोजना गराउन सक्रिय रहँदै आएका छन्। सम्भावनाको खोजी गर्न उनीहरुमा हुटहुटी बढ्यो। र, त्यही सम्भावना खोज्न दशैँ नसकिँदै हानिए ‘ट्रेल एक्सप्लोर’ गर्न।

‘धादिङ र नुवाकोटको सीमामा सिङ्ला भन्ने रहेछ। त्यहाँबाट राम्रो राम्रो हिमश्रृंखला देखिने तर अलि ओझेलमा परेको ठाउँ रहेछ। त्यसलाई चाहीँ ट्रेल रनिङ अल्ट्रा रनिङ गराउन सकिनेरहेछ कि भनेर सम्भाव्यताको खोजी गराउन पनि गएको हो हामी,’ मिश्रले सुनाए, ‘त्यो ठाउँमा जान चाहीँ तीनवटा ट्रेल रहेछन्। एउटा रुवि भ्यालीबाट माथि जाने। एउटा बुङताङबाट अनि एउटा किस्पाङतिरबाट रहेछ।’

उनीहरु चाहीँ बुङताङबाट गएका थिए।

+++

अक्टोबर २८

मिश्र, लामा, धाविका रसिला तामाङ टिम बनाएर त्यहाँ जाने योजना बन्यो। ट्रेकिङबाहेक रेस पनि हुनसक्छ भन्ने हिसाबले त्रिशुलीबाट दौडिँदै गोगने हुँदै बुङताङमा पुगेर उनीहरु पहिलो दिन बसे।

‘त्यहाँबाट सामानहरु लिएर गोङभञ्ज्याङ पुगेर खाजा खायौं। रुपचेत पुगेर क्याम्प बनायौ। एक नाइट त्यहीँ पुग्यो।’ तेस्रोपटक त्यहाँ जाँदाको अनुभव सुनाउँदै लामाले भने, ‘त्यहाँबाट माथि गयौं। वरपरको सिनहरु हिमालका रेञ्जहरु हेर्‍यो। अन्न्पूर्ण, माछापुच्छ्रे, रुवि भ्याली पनि। भक्तपुरसम्मको झिलिमिली र चन्द्रागिरी सबै देखिने रहेछ। त्यसपछि हामी क्याम्पमा फर्केर बस्यौं।’

भोलिपल्ट मर्मेन्चो हुँदै धुपीको रुखहरु भएको बाटोबाट उनीहरु फर्किए।

‘त्यहाँबाट डाउनहिल झरेर मेप्रु आयो। चौंरहरुतिर आयो। साल्मे आयो। त्यसपछि बाटैबाटो झरेर खोला आउँछ। मेघाङ, किस्पाङ छुट्याउँछ,’ लामाले हाँस्दै सुनाए, ‘बुङदाङ बसेर दशैंको पार्टी खाइयो। र, भोलिपल्ट त्रिशुली आइयो।’

तीनपटक त्यो रुटको अवलोकन गरिसकेपछि लामाको आत्मविश्वास थप बढेको छ। भन्छन्, : यो ठाउँमा एउटा रेस गर्ने स्टेज रेसहरु गराउने एउटा योजना छ।

+++

ट्रेलरेस हो नै अफ्ठ्याराबाटाहरुमा हुने प्रतियोगिता। उकालो, ओरालो अनि तेर्सो बाटहरु। कुनैकुनै रेसमा त बिचबिचमा डोरी चढेर जानुपर्ने हुन्छ। यही रेसमा त हो मीरा राई, भीम गुरुङ जस्ता धावकहरुले नेपालको नाम राखेको। अझ नेपालमा त हिमाल र पहाडको कमी छैन। जति धेरै हिमालहरु त्यति धेरै सम्भावनाहरु।

‘नुवाकोटको बुङताङबाट माथि सिङला माने गएर फेरि बुङताङ फर्कने ट्रेलचाहिँ एक्सप्लोर गरेर आएको अहिले,’ मिश्रले थपे।

त्यहाँको प्राकृतिक सौन्दर्यमा मोहित भएका उनीहरु भन्छन्: एकदमै राम्रो ठाउँ छ त्यहाँबाट चाहीँ माउन्टेन भ्यू एकदम राम्रो छ। त्यहाँबाट गणेश हिमाल, लामटाङ हिमश्रृंखला, मनास्लु हिम श्रृंखलालगायतका हिमालहरु देख्न सकिन्छ।

त्यसमा पनि यो क्षेत्र काठमाडौंबाट धेरै टाढा नभएकाले उनीहरु हौसिएका रहेछन्। यद्यपि उनीहरुले यसका लागि बाँकी प्रकृया अघि बढाउन भने बाँकी छ।

‘पहिला हामीले आफ्नो तर्फबाट ट्रेल एक्सप्लोर गराउने काम सकेका छौं। त्यसको जिपिएस पनि निकालेका छौं। त्यो फाइनल भएपछि हामी प्रपोजलका साथ स्थानीय तहमा जान्छौं,’ मिश्रले भने, ‘हाम्रो उद्देश्य २०२१ मा रेस गराउने भन्ने हो। त्यहाँ ४२ किलोमिटर र ५० किलोमिटरको रुट हामीले निकालेका छौं। यहाँ अन्तर्राष्ट्रिय रेस गराउन सकिन्छ। त्यो रुट १८०० मिटरबाट सुरु भएर ४१०० मा पुगेर १८०० मा आउने एलिभेसन छ नि त्यो भएको एकदमै राम्रो क्वालिटीको ट्रेल हो। एउटा सर्किट नै हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell