युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा युभेन्टसले फेरेन्कभारोसमाथि फराकिलो जित निकालेको छ। पुस्कास एरेनामा भएको खेलमा इटालियन क्लब युभेन्टसले घरेलु टोली फेरेन्कभारोसमाथि ४-१ को फराकिलो जित निकालेको हो।
खेलमा युभेन्टसले अल्भेरो मोराटाको गोलमा सातौं मिनेटमा नै अग्रता बनाएको थियो। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो। दोस्रो हाफमा मोराटाले नै फेरि युभेन्टसका गोल थपे। यसपटक उनले क्रिस्टियानो रोनाल्डोको पासमा ६० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै पाउलो डिबालाले ७२ औं मिनेटमा गोल थपे।
खेलको ८१ औं मिनेटमा घरेलु टोलीका लाशा ड्भालीले आत्मघाती गोल गर्न पुगे। यद्यपि ९० औं मिनेटमा फ्रान्क बोलीले गोल गर्दै घरेलु टोलीलाई सान्त्वना गोल फर्काए।
योसँगै समूह ‘जी’ मा लगातार तीन जित निकाल्दै ९ अंक जोडेको बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा छ भने ३ खेलबाट ६ अंक बनाएको युभेन्टस दोस्रो स्थानमा छ। त्यस्तै समान १/१ अंक बनाएका डाइनामो र फेरेन्ककार्भोस तेस्रो र चौथोस्थानमा छन्।
