डेभिड अन्दलको गएको अक्टोबरमा नै मृत्यु भयो। कोरोना भाइरसको संक्रमणका कारण उनको नर्थ डाकोटामा मृत्यु भएको हो। तर, ५५ वर्षीय उनी अमेरिकी चुनावमा राज्यस्तरको प्रतिनिधिसभाका लागि चयन भएका छन्, हिजोमात्रै।
अमेरिकामा कोभिड १९ पेन्डामिकले २ लाख ३२ हजार मानिसको ज्यान लिइसकेको छ। तीमध्ये एक हुन् डेभिड जसले मृत्युको डेढ महिनापछि निर्वाचनमा जित हासिल गरे।
पेन्डेमिककै कारण अमेरिकी नागरिकहरुले यसपाला नोभेम्बर ३ का लागि तोकिएको निर्वाचनसम्म कुरेनन्। उनीहरुले हुलाक सेवाबाट नै मतदान गरे। कोरोनाको त्रासका कारण पनि मानिसहरुले बुथसम्म पुग्ने हिम्मत त्यागेका थिए। त्यसैले अमेरिकी निर्वाचनको प्रस्ट तस्बिर अझै आइसकेको छैन। उनको जित पनि यसै सन्दर्भमा भएको हो।
पशु व्यवसाय र जग्गाको कारोबारी हुन् डेभिड जसले १६ वर्ष बुर्लेघ काउन्टीको योजना आयोगमा रहेर सेवा गरे। ८ वर्ष त त्यहाँ अध्यक्ष नै रहे। यस वर्षको सुरुमा नै जेफ डिजलरलाई हराउँदै उनी उम्मेदवार बन्न पुगे।
बिसमार्कमा दुई प्रतिनिधिसभाका सिट छन्।
डेभिड अन्दलले अर्का प्रत्यासी डेभ निहरिङसँग टिमअप गरेर चुनावी अभियानमा होमिएका थिए। रिपब्लिकन पार्टीका उनलाई प्रभावशाली नेताहरु डौग बुर्गम र केभिन कार्मरको साथ थियो।
कार्मर ट्रम्प निकट मानिन्छन्। उनले अन्दललाई बलियो गरी साथ दिए।
जब नर्थ डाकोडामा कोरोना भाइरसको संक्रमण बढ्यो डेभिड अन्दल प्रभावित हुन पुगे किनकि उनी पहिलेदेखि नै स्वास्थ्य समस्याबाट जुधिरहेका थिए। उनका परिवारले फेसबुकमा उनको स्वास्थ्यलाई लिएर टिप्पणी गरेका थिए तर त्यसमा कस्तोखाले मेडिकल चुनौती भोगिरहनुपरेको हो खुलाइएको थिएन।
कोरोनाले च्यापेपछि उनलाई अस्पताल पुर्याइयो। त्यसको चार दिनमा अक्टोबर ५ मा उनको मृत्यु भयो।
उनको परिवारले फेसबुकमा राज्यस्तरमा रहेर सेवा गर्ने चाहना अपूरो हुन पुगेको लेखेका छन्।
हिजो उनको मत परिणाम सार्वजनिक भयो जसमा उनले खसेको कूल मतको ३५.५३ प्रतिशत हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका नेताको १२ प्रतिशतमात्र मत थियो।
सन् २००० यता अमेरिकामा मृत्युपछि यसरी चुनाव जित्नेको संख्या ६ पुगेको छ।
