PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

'राजीनामा मागिएकाे' भन्दै हिजो ओलीले दिएको अभिव्यक्तिमाथि प्रचण्डको प्रश्न



पहिलोपोस्ट

'राजीनामा मागिएकाे' भन्दै हिजो ओलीले दिएको अभिव्यक्तिमाथि प्रचण्डको प्रश्न

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागिएको भन्दै हिजो दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएका छन्।

बिहीवारको भेटमा प्रचण्डले राजीनामा मागिएको भन्ने ओलीको अभिव्यक्ति र प्रदेश १ मा गुटको मेलामार्फत् जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउन दिएको निर्देशनप्रति प्रश्न गरेको एक नेताले जानकारी दिए।

'हिजो प्रदेश १ को भेला गरी जबजको पक्षमा उभिनुस् भन्ने तपाईँको कुरा पार्टी एकता विरोधी तथा आपत्तिजनक छ। कसैले पनि नउठाएको राजीनामाको कुरा उठाउनुभयो। त्यो गम्भीर र आपत्तीजनक  विषय हो। ती विषयवस्तुमा पार्टी कमिटी बैठकमा नै छलफल गरेर अघि बढौं,' प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने।

तर, ओली पार्टी कमिटी बैठक राख्ने कुरमा अझै सहमत नभएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा राजीनामा विषय उठेको र कुनै हालतमा राजीनामा नदिने बताएका थिए।

'सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,' उनले प्रश्न गर्दै अगाडि भनेका थिए, 'मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।'

त्यस्तै बुधवार नै उनले प्रदेश १ का नेताहरुलाई जुम बैठकमार्फत् जबजको पक्षमा उभिन निर्देशन दिएका थिए। नेकपा विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीच भेट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell