PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

त्रिविले गर्‍यो दीक्षान्त समारोहमा सहभागी हुन आह्वान



रासस

त्रिविले गर्‍यो दीक्षान्त समारोहमा सहभागी हुन आह्वान
फाइल फोटो।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो।

पुसमा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदन फाराम अनलाइनबाट आउँदो मंसिर १ गतेभित्र भरिसक्ने भनिएको छ।

समारोहमा भाग लिनका लागि स्नातक तहले तीन हजार ७०० रुपैयाँ, स्नातकोत्तर तह र एमफिलले चार हजार २०० रुपैयाँ र विद्यावारिधिले चार हजार ७०० रुपैयाँ शुल्क बुझाउनुपर्ने छ। तीमध्ये एक हजार ५०० रुपैयाँ धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो। समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन्। गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell