काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको १३ हजार ६८ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार २०९ महिला र एक हजार ८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ। संक्रमित भएका मध्ये एक लाख ४८ हजार ४०८ जना संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै हाल ३६ हजार पुष्टि भएका संक्रमितहरु आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या एक हजार ५२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना संक्रमित संक्रमण मुक्त भएका छन्।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ। जुन पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकाहरुको ४५.८ प्रतिशत हो।
संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा एक हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ।
