PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द, पुनः समुदायमा कोरोना फैलिने खतरा



राधेश्याम पटेल

वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बन्द, पुनः समुदायमा कोरोना फैलिने खतरा

वीरगंजः वीरगंज महानगरले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम बन्द गरेको छ। महानगरका ३२ वटै वडामा ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको हो। गत असार-साउनमा कोरोनाको इपिसेन्टर बनेका वीरगंजमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन बन्द गरेको हो।

संघीय सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धित व्यक्ति आफैँले गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कोरोना नियन्त्रणको सबै काम बन्द गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते देशभरका सरकारी अस्पताल र प्रयोगशालालाई पठाएको पत्रमा आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, एकल महिला , अपाङ्गता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिने उल्लेख छ। यी बाहेक अन्यले परीक्षण र उपचारको खर्च सम्बन्धित व्यक्ति आफैँले गर्नुपर्ने सरकारको निर्णय छ।

तर मन्त्रालयको पत्रमा संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलनबारे मौन रहेको अवस्थामा महानगरले अचानक यी कार्य रोकेको हो। ट्रेसिङ र स्वाब संकलन रोकिँदा पुनः पर्सामा कोरोना महामारी समुदाय स्तरमा फैलिने खतरा बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्। संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालयको समन्वयमा सम्बन्धित पालिकाको हुन्छ। तर महानगरपालिकाले मन्त्रालयले वीरगंजको नारायणी अस्पताल र प्रयोगशालालाई पठाएकै पत्रको आधारमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन बन्द गरिदिएको हो।

यसअघि ट्रेसिङ र स्वाब संकलनमा खटिँदै आएका २१ जना स्वास्थ्यकर्मीलाई महानगरपालिकाले फिर्ता बोलाएको छ।

मन्त्रालयबाट आएको निर्देशनसहितको पत्रबारे नारायणी अस्पतालले महानगरपालिकामा जानकारी गराएपछि महानगरमा बुधबारदेखि ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरेको स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए।

वीरगंजका मेयर विजय सरावगीले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर ट्रेसिङ र स्वाब संकलन बन्द गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ट्रेसिङ र स्वाब संकलन कार्य बन्द नै गर्न आफूले महानगरलाई नभनेको दाबी गरे।

‘बन्द नै गर्नुपर्छ भनेर मैले भनेकै होइन, यहाँ अरूलाई दोष देखाउन सजिलो हुन्छ,’ उनले भने, ‘सरकारको पछिल्लो निर्णयबारे के गर्ने विषयमा नगरप्रमुखसँग छलफल मात्रै भएको हो। मन्त्रालयले पठाएको पत्रमा परीक्षण र उपचार मात्रै अब निःशुल्क नहुने उल्लेख रहेको तर संक्रमितको ट्रेसिङ र स्वाब संकलनका विषयमा सरकारको कुनै निर्देशन नआएको अवस्थामा अलमल बढेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell