PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान



रासस

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान
फोटो : रासस।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीवार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन्।

संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुन्।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए। प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधवार नेपाल आएका थिए।

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उनको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ। नेपाली सेनाले उनको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रवार शिष्टाचार भेट गर्नेछन्। नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रवार नै स्वदेश फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell