इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको हो।
मुम्बईका लागि इसान किसनले अभिजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा सूर्यकुमार यादवले ५१ रन बनाए। त्यस्तै क्विन्टन डि ककले ४० तथा आक्रामक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले १४ बलमा ३७ रन बनाए।
उता दिल्लीका लागि रबिचन्द्रन अश्विनले सर्वाधिक ३ विकेट लिए। त्यस्तै एनरिच नोर्किया र मार्कस स्टोइनिसले समान १/१ विकेट लिए।
आजको खेलमा जित निकाल्ने टोलीले १० नोभेम्बरमा हुने आईपीएल फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोलिले पनि फाइनलमा पुग्नका लागि इलिमिनेटरको विजेता टोलीसँग अर्को क्वालिफायर्स खेल्ने मौका पाउने छ। यद्यपि दोस्रो क्वालिफायर्सको बाटो रोज्न भने दुबै टिम चाहँदैनन्।
दिल्ली केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
