PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सीमा नाका खुलमखुल्ला, आकाशको बाटो चाहिँ किन बन्द भारतसँग?



वसन्तराज उप्रेती

सीमा नाका खुलमखुल्ला, आकाशको बाटो चाहिँ किन बन्द भारतसँग?

काठमाडौं : छिमेकी मुलुक भारतले कोभिड संक्रमणकै बीचमा २१ वटा मुलुकमा व्यवसायिक हवाई उडान थालिसकेको छ। नेपालमा विभिन्न मुलुकले नियमित उडान थालेको दुई महिना बढी भइसकेको छ।

तर, नेपाल-भारतबीच भने अझै उडान सुरु हुन सकेको छैन। दुई देशबीच नियमित उडान नहुँदा उपचार, अध्ययन र व्यापारका लागि जाने नेपाली समस्यामा छन्। अरु देशसँग उडान भइसक्दा नेपाल-भारत उडान किन हुन सकेको छैन?

त्यसो त भारतले दुई महिना अघि नै नेपालसँग उडानका लागि प्रस्ताव नगरेको होइन। त्यस प्रस्तावमा भारतले एयर ट्राभल एग्रिमेन्टमा दुई देशका नागरिक मात्रै ल्याउन र लैजान पाउने (एयर बबल्स) हुनुपर्ने शर्त राखेको थियो।

भारतले २१ मुलुकसँग यही सम्झौताका आधारमा व्यवसायिक उडान गरिरहेको छ। तर, नेपालले भने एयर बबल्स एग्रिमेन्टको प्रकृयालाई अघि बढाएको छैन। भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले एयर बबल्स सम्बन्धी प्रस्ताव नेपाल पठाएका थिए। यो प्रस्तावपछि पर्यटनमन्त्री योगेश भट्टराईले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा दशै अघि नै फर्वार्ड गरेका थिए।

उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुगेको पनि एक महिना भइसकेको छ। तर, कुनै निर्णय भएको छैन्। पर्यटन मन्त्री भट्टराईले भारतको २१ मुलुकसँग भएको सम्झौता अध्ययन गरेर दुई देशीय उडान सुरु गर्ने बताए। यता संक्रमण दर बढिरहेकै बेला भारत र नेपालको सीमाबाट भने निर्वाध आवत जावत जारी छ। सीमा खुलिसकेको छ।

'हामी छिटै नेपाल-भारत पुनः उडान सुरु गर्ने तयारीमा छौं। यतिखेर कोभिड-१९ संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अहिले भारतले सम्झौता गरेको विभिन्न मुलुकसँगको उडान अवस्थाको अध्ययन अनुसार सम्झौता गर्ने तयारीमा छौं,' उनले भने। असोजमा भारतीय दूतावासले साताको दुई उडान गर्न समेत प्रस्ताव गरेको थियो।

चैत अघि नेपाल-भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन भारतीय जहाज कम्पनीले उडान गर्दै आएका थिए। पाँच कम्पनीले सातामा कुल ६४ उडान गर्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell