PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

हाडनाता करणी घटनामा सोधखोज गर्न चुकेका प्रहरी निरीक्षकलाई उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार!



राधेश्याम पटेल

हाडनाता करणी घटनामा सोधखोज गर्न चुकेका प्रहरी निरीक्षकलाई उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार!

वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले हडनाता करणी घटना अनुसन्धानमा चुकेका एक प्रहरी निरीक्षकलाई पुरस्कृत गरेको खुलेको छ। असोज ३० गते ६५ औं प्रहरी दिवसको अवसरमा ती प्रहरी निरीक्षकलाई १ हजार नगद र कदरपत्रसहित सम्मानित गरेको खुलेको हो।

ईलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका इन्चार्ज प्रहरी निरीक्षक ओमप्रकाश यादव  जिल्लामा उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालबाट सम्मानित भएका हुन्।

बारा, प्रसौनी गाउँपालिका –५ प्रस्टोकाको एक २२ वर्षीया विवाहित महिलाको देवर रमेश साहले हाडनाता गरेको घटनामा उनी चुकेको खुलेको छ। प्रहरी निरीक्षक यादव उक्त मुद्दाको राम्रोसँग अनुसन्धान गर्न चुकेको देखिन्छ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय प्रसौनीमा न्याय माग्न जाँदा प्रहरी निरीक्षकले न्याय नदिएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बारामा हाडनाता करणी मुद्दा दर्ता गराएको थियो। पीडक रमेश साहले आफ्नै भाउजुलाई पटकपटक हाडनाता करणी गर्दै आएको पाएपछि परिवारजनले न्यायको लागि प्रहरीमा इप्रका प्रसौनीको नौतनमा उजुरी गरेका थिए। इप्रका प्रसौनीमा पन्चायती बसेर दुबै पक्षबीच मौखिक मिलापत्र पनि गराइएको पीडित पक्षको भनाई छ।

महिलाको ससुरा पक्षले कुटपिट गरेको, दूव्र्यवहार गरेकोभन्दा पनि घटनाको गहिराईमा गएर अनुसन्धान हुन नसक्दा पीडित न्यायबाट बञ्चित भएकी थिइन्। त्यसपछि घरपरिवारलाई हाडनाताको बेलिबेस्तिार बताएपछि पीडित पक्ष न्याय माग्न इप्रकालाई पार गर्दै जिल्ला प्रहरी कार्यालय बारमा जाहरी दिन पुगेको थियो। उक्त घटनामा प्रहरी निरीक्षक यादवले पीडित महिला र पीडक रमेश साह पक्षलाई सम्झाई बुझाई घर पठाई दिएका थिए।

जिल्ला प्रहरी कार्यालयमा हाडनाताको किटानी जाहरी असोज २१ मा दर्ता भएपछि जिल्लाबाट अनुसन्धान तिव्रता पायो। प्रहरीले तत्कालै पीडितको १९ वर्षीय देवर रमेश साहलाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गर्दा कात्तिक १८ गते हाडनाता करणी गर्ने आरोपमा निजलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाइएको छ।

यस विषयमा इप्रका प्रसौनीका प्रहरी निरीक्षक ओमप्रकाश यादवसँग बुझ्दा शुरुमा करणीको घटना नआएको र कुटपिटको घटना आएकोले आफुले सम्झाई बुझाई पठाएको स्वीकारे। यता, बाराका प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रले शुरुमा घटनाको स्वरुप बेग्लै भएको र पछि परिवारजनले पटकपटक हाडनाता गरेको जाहेरी दिएपछि मुद्दा दर्ता गरी जिल्लाबाट आवश्यक कारबाही अघि बढाएको स्पष्ट पारे। हाडनाता मुद्दाको टुंगो करिब ३ महिना लाग्ने र यस मुद्दामा जबरजस्ती र हाडनाताको दुबै सजाय जोडेर ४ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell