PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सरकारी विद्यालय परिसर चिटिक्क पार्न खट्दै 'अशक्त' किरण : 'बित्नुअघि आमाले बैंकमा पैसा छोड्नुभएछ, खर्च यसैबाट'



पी बी खड्का

सरकारी विद्यालय परिसर चिटिक्क पार्न खट्दै 'अशक्त' किरण : 'बित्नुअघि आमाले बैंकमा पैसा छोड्नुभएछ, खर्च यसैबाट'

सुर्खेत : ज्यान पोलियो लागेर लुलो छ। तर, समाजमा सबलझै सक्रिय छन् उनी। सामुदायिक विद्यालयको वातावरण कसरी सफा बनाउन सकिन्छ भन्ने अभियानमा लागेका छन् उनी।

सानैमा पोलियो लागेर शारीरिक रुपमा अपांग उनी मानसिक रुपमा ‘अपांग’ देखिन्नन्। उनी अर्थात वीरेन्द्रनगर-४ भैरवस्थानका २९ वर्षे किरण सापकोटा।

दोस्रो पाठशालाको रुपमा हेरिने सामुदायिक विद्यालय परिसर सामान्तय फोहोर र अव्यवस्थित हुन्छ। यस्तै विद्यालय परिसरको वातावरणले मन खिन्न बनायो उनको। उनी पुगेका अधिकांश सरकारी विद्यालयको परिसर वर्षातमा झारपातले ढाकिने र हिउँदमा उजाड देखिन्थ्यो। विद्यालय परिसरमा गाइबस्तु चराइएको पाइन्थ्यो भने कतै, दुर्व्यसनी जमघट हुने थलो। सामुदायिक विद्यालयको यस्तो अवस्था देखेपछि केही गर्नै पर्ने देखे किरणले।

अनि सुरु गरे ‘माई ग्रिन एण्ड क्लिन स्कुल’ अभियान। २०७२ सालमा वीरेन्द्रनगर नगर ४ स्थित सरस्वती प्राथमिक विद्यालयमा फूल र अन्य बिरुवा रोपेर ‘माई ग्रिन एण्ड क्लिन स्कुल’ अभियान सुरे। यस अभियानमार्फत विद्यालयको परिसर हरियाली र सुन्दर बनाउने अभियान सुरु गरेका छन्। ‘मैले देखेका विशेषगरी सामुदायिक विद्यालयहरु, शिक्षा लिन आउने थलोमा खडेरीमा एकदमै उजाड हुने, वर्षातमा जताततै झार जंगल, झाडी हुन्छ, गाई, बाख्रा चराउने थलो बनेको हुन्छ,’ किरण भन्छन्,‘अझ त्यसैमाथि भएन भने भर्खरका किशोरावस्थाका केटाहरुको दुर्व्यसनी थलो बनाएको देख्छु।’

अनि लाग्यो ज्ञानआर्जन थलोलाई हरियाली र सुन्दर वातावरण गराउन सके विद्यालयप्रतिको मोह बढ्ने छ।

चार वर्षअघि आमा गुमाए किरणले। आमाले उनको नाममा बैंकमा पैसा बचत गरिदिएकी रहेछन्। खातामा थियो नौ लाख ४० हजार रुपैयाँ।

‘मेरो आमाले मलाई अपांग छ भनेर सानैदेखि नै बैंकमा पैसा बचत गर्नुभाको रैहेछ,’ उनले भने, ‘छोराले कामसाम गर्न सक्दैन भनेर होला, नौँ लाख ४० हजार रुपैयाँ बचत छ। त्यही बचतबाट आएको ब्याजले मैले फूल किन्ने, विरुवा किनेर रोप्ने गरेको छ।’

त्यत्तिमात्रै होइन उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। अपाङ्गता छात्रवृत्ति वापत उनले प्रत्येक वर्ष ३० हजार रुपैयाँ पाउँछन्। छात्रवृत्रि वापतको रकमसमेत उनले विद्यालयमा बगैँचा बनाउने काममै खर्चिएका छन्।

‘मैले अपांगता छात्रवृत्तिका लागि वार्षिक ३० हजार पाउँछु। बैंकमा राखेको पैसाबाट आउने ब्याज, छात्रवृत्तिको रकम मैले फुल, विरुवा, तारजाली, ईट्टा र बाँस जस्ता आवश्यक सामग्री किन्नमै खर्चिएको छु।’

उनले यो अभियान अहिले जाजरकोटको एक विद्यालयसहित सुर्खेतका गरी २९ वटा सामुदायिक विद्यालयमा यो अभियान पुर्याईसकेका छन्।

उनले विरुवा रोप्नेमात्रै नभएर मलजलसहित गोडमेलसमेत आफैँ गर्न पुग्छन्। विद्यालयमा यसरी दुख गरेर लगाएका फूल र विरुवा जोगाउनै मुश्किल। दुःख गरेर हुर्काएका विरुवा, बाँस, जाली चोरी हुने हुदाँ संरक्षणमा निकै चुनौती देखिएको भन्दै धुपीको विरुवा १६ पटकसम्म चोरी भएको उनी सुनाउँछन्। ‘फूल, बिरुवा लगाएर तारवार गरिन्छ,’ किरणले दुखेसो पोखे, ‘जुन विद्यालयबाट मैले अभियान सुरु गरे त्यही विद्यालयमा धुपीको विरुवा १६ पटकसम्म चोरी भएको छ। बाँस, जाली, सरियाका टुक्रा, इट्टा केही रहनै पाउन्न।’

एउटा विद्यालयमा करिव बगैँचा निर्माण गर्न २५ देखि ३० हजारको हाराहारीमा लाग्ने उनी बताउँछन्। यसरी खर्च गरेको विरुवासमेत उखेलेर लैजाने हुदाँ अहिले उनले घरमै फुल र विरुवाको ‘मिनी नर्सरी’ सुरु गरेका छन्।

‘बाहिरबाट फुल विरुवा किनेर ल्याईन्छ। एक भनेको समयमा पाइदैन। त्यही पनि चोरेर लग्दिन्छन् कति किनेर ल्याउनु।’ किरणले भने,‘अब आफैँ नर्सरी बनाएपछि धेरै किन्न पनि नपर्ला। खर्च कम होला भनेर मिनी नर्सरी सुरु गरेको छु।’

सुरुमा फुल र विरुवा लिएर विद्यालयको परिसरमा रोप्दा कतिपय विद्यालयका शिक्षक, शिक्षिकाहरुले उनलाई नरोप्न समेत भन्थे। ‘कतिपय विद्यालयका सर, मेडमहरुले त मलाई किन दुःख गर्नुहुन्छ? नरोप्नुस्, गाईबाख्राले खाईदिन्छ भन्नुहुन्थ्यो’ उनले भने।

अहिले उनलाई नीजि विद्यालय र कार्यालयहरुमा  बगैँचा निर्माणका लागि माग हुन थालेको छ। तर, उनी सामुदायिक विद्यालयमा बाहेक अहिलेसम्म कही गएका छैनन्।

‘मैले सामुदायिक विद्यालयमा बगैँचा बनाएको देखेर हिजोआज बोर्डिङ स्कुल अन्य कार्यालयहरुले समेत पैसा दिन्छौँ भनेर बोलाउनुहुन्छ,’ उनले भने।

घरपरिवारको साथले सुरु गरेको माई ग्रीन एण्ड क्लिन स्कुल अभियानमा पछिल्लो समय किरणलाई शिक्षक, विद्यार्थी र साथीभाई सबैको साथ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell