इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्दै छन्। शेख जायेद स्टेडियम अबुधाबीमा हुने इलिमिनेटरको खेलमा जित्ने टोलिले फाइनलका लागि दिल्लीसँग क्वालिफायर्स खेल्ने मौका पाउने छ। र, पराजित टिम बाहिरिने छ।
जारी सिजन यी टिमबीच भएको दुई खेलमा दुबैटिमले १/१ खेल जितेका छन्। प्रतियोगितामा कायम रहन दुबै टोली ‘गर या मर’ को अवस्थामा हुनेछन्।
पछिल्ला खेलहरुलाई हेर्दा हैदराबादले लगातार तीन खेलमा जित निकालेको छ। प्रतियोगितामा कमजोर सुरुवात गरेको हैदराबादले आफ्नो यसअघिको खेलमा मुम्बइ इण्डिन्समाथि १० विकेटको सानदार जित निकालेको थियो। मुम्बइ हिजोको खेलमा दिल्लीलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ। उता बेङ्ग्लोरको कथा फरक छ। पछिल्ला चार खेलमा बेङ्ग्लोर जितबिहीन छ।
हैदराबादको ओपनिङ पछिल्लो समय राम्रो जमिरहेको छ। डेबिड वार्नर र ऋद्धिमान साहले यसअघि मुम्बइ इण्डियन्सविद्ध १५१ र दिल्ली क्यापिटल्स विरुद्ध १०७ रनको साझेदारी गरेका थिए। त्यसबाहेक पनि मनिष पाण्डे, केन विलियम्स, प्रियम गर्गलगायतका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै आएका छन्। बलिङ तर्फ पनि सन्दीप शर्मा, राशिद खान, टी नटराजन, जेसन होल्डर लगायतका खेलाडीहरु राम्रो फर्ममा छन्।
अर्कोतर्फ बेङ्ग्लोरले आफ्नो प्रदर्शनमा बदलाब ल्याउन आवश्यक देखिन्छ। लगातार ४ म्याचमा पराजय भोगेको बेङ्ग्लोरलाई आत्मविश्वास बनाइराख्न पनि आवश्यक छ। देवदत्त पाडिकल, कप्तान विराट कोहली, एबि डि भिलियर्सको ब्याटिङ प्रदर्शनमा बेङ्ग्लोरको नजिता निर्भर हुने देखिन्छ भने मोहम्मद सिराज, क्रिस मोरिस, युजवेन्द्र चहललगायतले बलिङ सम्हाल्ने छन्।
हैदराबादका लागि जारी सिजन डेभिड वार्नरले सर्वाधिक ५२९ रन बनाउँदा मनिष पाण्डेले ३८० रन बनाएका छन्। त्यस्तै जोन्नी बेयरस्टोले ३४५ रन बनाएका छन्। बलिङतर्फ राशिद खानले १९ विकेट लिँदा टी नटराजनले १४ र सन्दीप शर्माले १३ विकेट लिएका छन्।
उता बेङ्ग्लोरका लागि सर्वाधिक रन देबदत्त पाडिकलले बनाएका छन्। उनले ४७२ रन बनाउँदा कप्तान बिराट कोहलीले ४६० तथा एबि डि भिलियर्सले ३९८ रन बनाएका छन्। बलिङतर्फ युजेवेन्द्र चहलले सर्वाधिक २० विकेट लिँदा क्रिस मोरिसले ११ तथा मोहम्मद सिराजले ९ विकेट लिएका छन्।
खेल आज साँझ पौने ८ मा सुरु हुनेछ।
